स्थानीय तह निर्वाचनमा उमेद्वार भएका मकवानपुरकोथाहा नगरपालिकाका ८५ प्रतिशत उमेद्वारलाई निर्वाचन आयोगको स्पष्टिकरण सोधेको छ । निर्वचित जनप्रतिनीधि र पारजित भएका उमेद्वारहरुले स्थानीय तह निर्वाचनमा लागेको खर्चको बिल भरपाइसहित आयोगमा विवरण नबुझाएकोले उनीहरुलाई आयोगको स्पष्टिकरण सोधेको हो ।
खर्च विवरण नबुझाउने थाहा नगरपालिकाका २ सय ४ जना उमेद्वारलाई स्पष्टिकरण सोधेको हो । स्पष्टिकरणमा पर्नेहरु मध्ये १ सय ५८ जना अर्थात ६५.८३३ प्रतिशत विवरण नबुझाउने र ४६ जना अर्थात १९.१६६ प्रतिशत उमेद्वार तोकिएको समय भन्दा पछि विलम्ब गरी विवरण बुझाउने रहेका छन् । उनीहरुलाई तोकिएको समयभित्र के कति कारणले खर्च विवरण बुझाउन नसकिएको हो भनी आयोगले १ भाद्रमा स्पष्टिकरण सोधेको छ । थाहानगरमा स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल २ सय ४० जनाले उमेद्वारी दिएका थिए ।

यसरी स्पष्टिकरणमा पर्नेहरुमा थाहा नगरपालिका वडा नम्बर ६ को सबैभन्दा बढि २३ जना उमेद्वार रहेका छन् ।

थाहानगर प्रमुख पदमा उमेद्वारी दिएका ६ जना मध्ये निर्वाचित नगर प्रमुख विष्णु विष्ट, पराजित भएका शुभराज गोले र विर बहादुर भोम्जनले खर्च विवरण पेश गरेका छन् भने राजकुमार गोलेले विलम्ब गरी विवरण बुझाएका छन् । त्यस्तै अच्युतम प्रसाद ढकाल र बसुन्धरा पुडासैनीले खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् ।
थाहानगर उपप्रमुख पदका उमेद्वारहरुमा निर्वाचित उपप्रमुख भरत गोपालीले खर्चको विवरण बुझाएका छन् भने कल्पना बलामी र नविन रायमाझीले निर्वाचनको खर्च विवरण कानून अनुसार बुझाएका छैनन् ।

यसरी खर्च विवरण नबुझाई स्पष्टिकरणमा पर्नेमा २० जना उमेद्वारी दर्ता भएको वडा नम्बर १ मा सबैजना स्पष्टिकरणमा परेका छन् । वडा नम्बर २ मा २४ उमेद्वार मध्ये २२ जना, वडा नम्बर ३ मा १९ उमेद्वारमा १५ जना, वडा नम्बर ४ मा १७ उमेद्वारमा १६ जना, वडा नम्बर ५ मा १४ जना उमेद्वारमा सबैजना, वडा नम्बर ६ मा २३ उमेद्वार रहेकोमा सबैजना निर्वाचन आयोगको स्पष्टिकरणमा परेका छन् ।

त्यस्तै वडा नम्बर ७ मा २० जना उमेद्वार रहेकोमा १८ जना, वडा नम्बर ८ मा २३ उमेद्वारमा १८ जना, वडा नम्बर ९ मा २१ उमेद्वारमा २० जना, वडा नम्बर १० मा १५ जना उमेद्वारमा ११ जना, वडा नम्बर ११ मा २५ जना उमेद्वारमा १७ र वडा नम्बर १२ मा १० जनामा ५ जना उमेद्वार निर्वाचन आयोगको स्पष्टिकरणमा परेका छन् । नगरपालिकामा कुल २ सय ४० उमेद्वार रहेकोमा जम्मा ३६ जना उमेद्वारले मात्र निर्वाचनको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।

स्रोत: निर्वाचन आयोग

निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ बमोजिम राजनीतिकदल वा उमेद्वारले निर्वाचनको अन्तिम मतपरिणाम प्रकाशित भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल भरपाइसहित आयोगले तोकेको कार्यालयमा विवरण पेश गर्नुपर्ने व्यवस्था छ । त्यस्तै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण दल वा उमेद्वारले मतपरिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने, स्थानीय तह निर्वाचन नियमावली, २०७३ नियम ४० बमोजिम उमेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको खर्चको विवरण तोकिएको ढाँचामा मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।

कानुन अनुसार खर्च विवरण नबुझाउने उमेद्वारहरुको स्थानीय तह अनुसार निर्वाचन आयोगले १ भाद्रमा नामावली वेभसाइटमा प्रकाशन गरेको छ ।

खर्च विवरण नबुझाउनेहरुलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (४) बमोजिम सफाइसहित ७ स्पष्टिकरण ७ दिनभित्र निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेश गर्न सार्वजनिक सूचना गरिएको छ । सूचना अनुसार पालिकाका सबै उमेद्वारले यहि भाद्र ७ गतेभित्र जिल्ला निर्वाचन कार्यालय मकवानपुर वा प्रदेश निर्वाचन कार्यालय हेटौंडामा गई लिखित स्पष्टिकरण दिनूपर्नेछ ।

हेर्नुहोस् स्पष्टिकरणमा पर्नेहरुको नामावलीः

यो पनि पढ्नुहोस:

इन्द्रसरोवरका सबै जनप्रतिनीधिलाई निर्वाचन आयोगले स्पष्टिकरण माग्यो (हेर्नुहोस् नामावली)

पालिका प्रेस
थप जानकारी