मकवानपुर थाहा नगरपालिकाको स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम भएको छ । थाहानगरको विकास घरमा ८ र ९ भाद्रमा भएको समिक्षा कार्यक्रममा थाहा नगर प्रमुख विष्णु विष्ट, उपप्रमुख भरत गोपाली प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले, वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरुको उपस्तिथि रहेको थियो।

नगरका १२ वटा स्वास्थ्य संस्थाहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्रहरुको अवस्था, बजेट कायाृन्वयनको अवस्था वित्तिय प्रगति समस्या र चुनौतिको विषयमा समेत छलफल भएको थियो । सो अवसरमा स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्था, सेवाग्राहीलाई दिने सेवाको अवस्था, स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप, सुत्केरी, गर्भपतन, परिवार नियोजनका साथै जनस्वास्थ्यको अवस्था बारेमा १२ वटै स्वास्थ्य संस्थाका प्रमुखहरुले कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरको प्रमुख स्वास्थ्य चुनौतीको रुपमा प्राथमिक अस्पतालमा विशेषज्ञ सहितको एम.डि.जी.पी. मेडिकल अधिकृतबाट सेवा प्रवाह गर्न जरुरी रहेको बताए । सामाजिक आर्थिक, शैक्षिक अवस्थालाई सुधार परिवर्तन तथा नियन्त्रण गरेर स्वास्थ्य रक्षा र सुधार गर्न स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा जोड दिदै आधुनिक स्वास्थ्य शिक्षा सामाग्री हरुको आवश्यकता रहेको बताए । बलामीले घरमा सुत्केरी शून्य गर्न एम्बुलेन्स सेवा निःशुल्क गर्नुपर्ने, प्रसुती प्रतीक्षालय निर्माण गरि बस्ने कक्षको ब्यबस्थापन गर्नुपर्ने शाखाको आगामी चुनौती रहेको बताउदै नगरका १० स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसारको भवनमा रहेको, क्लिनिक, वर्थिङ सेन्टर सबै स्वास्थ्य संस्थामा रहेको, अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा रहेको, गुणस्तरीय खोप सेवाको लागि १० स्थानमा आइएलआरको व्यबस्था रहेको बताए । शाखा प्रमुख बलामीले स्वास्थ्य संस्थालाई पालिकाबाट भएका नविनतम प्रयासका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम लाई थाहा ४ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यबस्थापन समितिका अध्यक्ष समेत रहेका नारायण लामाले समापन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी