मकवानपुरको थाहा नगरपालिकाले सबै सरकारी तथा सामुदायिक विद्यालयमा स्थानीयता झल्कने पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्थानीय परिवेश, चालचलन, परम्परा, पर्यटकीय स्थल, स्वास्थ्य, स्थानीय खेलजस्ता मौलिक र संरक्षण गर्नुपर्ने विषयको महत्त्व बुझाउन ‘थाहा ज्ञानमाला’ गत वैशाखदेखि पढाउन थालिएको हो ।

पहिलो चरणको १ देखि ५ कक्षासम्म पढाइ सुरु भइसकेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पढाइ हुने मेयर विष्णु विष्टले बताए । स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय सरोकारवालाको संलग्नतामा स्थानीय तहलाई पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । नगरपालिकामा ५३ वटा सामुदायिक, ६ संस्थागत विद्यालयमा ९ हजार ७ सय ५२ जना विद्यार्थी छन् । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा रूपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारी मात्र समावेश गरिएको छ ।

ती कक्षाका बालबालिकाका लागि बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्री समावेश गरिएको शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए । रूपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजनाअनुसार सामान्य जानकारी समावेश गरिएको छ ।

पालिका प्रेस
थप जानकारी