मकवानपुरको थाहा नगरपालिका शिखरकोटमा रहेको नवजागृत पुस्तकालयले १५ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा १५ भाद्रमा विचार गोष्ठी तथा चियापान कार्यक्रम गरेको छ । पुस्तकालयका अध्यक्ष मधुसूदन रायमाझीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अध्यक्ष रायमाझीले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउनुपर्नेमा जोड दिए । रायमाझीले भने–‘पुस्तकालय भनेको ज्ञानको भण्डार हो, पुस्तकालय अझै व्यवस्थापन हुन बाँकी छ ।’ पुस्तकालयलाई व्यापक सदुपयोग गर्नुपर्ने औँल्याउँदै सहभागीहरुले पुस्तकालय व्यवस्थापकहरूको स्तरवृद्धि र पुस्तकालय व्यवस्थित सञ्चालनको लागि नगरपालिकाले प्राविधिक तथा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

वि.सं २०२५ मा स्थापित नवजागृत पुस्तकालय मकवानपुरकै अग्रणी पुस्तकालय मध्येमा पर्छ । पञ्चायतकालको प्रतिकूल समयमा पुस्तकालय स्थापना भएका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत नवजागृत पुस्तकालयलाई लिने गरिन्छ ।
यसैबीच नवजागृत पुस्तकालयको साधारणसभा सो पुस्तकालयको स्थापना दिवसको अवसरमा ३० भाद्र गर्ने निर्णय भएको छ । पुस्तकालयले सदस्यता नविकरण गर्न समेत अनुरोध गरेको छ ।

पालिका प्रेस
थप जानकारी