थाहा नगरपालिकाले फोहोरबाट आम्दानी गर्न थालेको छ । गत आवमा जैविक फोहोरबाट मल र अजैविक फोहोर बिक्रीबाट साढे एक लाख रुपैयाँ आम्दानी गरेको पालिकाले जनाएको छ ।

समुदायलाई परिचालन गरेर उचित ढंगले फोहोरको व्यवस्थापन गर्दै आएकाले आम्दानी हुन थालेको फोहोर व्यवस्थापन शाखा प्रमुख अनिल लामिछानेले बताए । छुट्टै कार्यविधि नै बनाएर स्थानीयलाई अपनत्व हुनेगरी व्यवस्थापन गरिरहेकाले थप लगानी गर्नुनपरेको उनको भनाइ छ ।

पालिकाले प्रत्येक वडामा बजार पहिचान गरी व्यवस्थापन समिति गठन गरेको छ । त्यस्ता समितिबाट मासिक न्यूनत्तम सय रुपैयाँ लिने गरिएको छ । ‘नगरका १६ वटा समितिबाट फोहोर संकलन गरेर थाहा–२ टाखेल र ६ बज्रवाराहीस्थित सेरिगेसन हाउसमा जम्मा गरिन्छ । यहाँ कुहिने र नकुहिने फोहर छुट्याइन्छ,’ नगर प्रमुख विष्णु विष्टले भने, ‘नकुहिनेलाई बिक्री र कुहिनेबाट मल बनाइन्छ ।’

नकुहिने फोहोरको उचित व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । नगरबाट दिनहुँ २ हजार ५ सय किलो फोहोर संकलन हुने गर्छ । त्यसमध्ये ४ सय किलो कुहिने फोहोर हुने उनले जनाए ।

सहरीकरणसँगै फोहोरको मात्रा बढेको भन्दै नगरले त्यसलाई घटाउन तालिम आयोजना, डस्टबिन वितरणलगायत कार्यक्रम गरिरहेको छ । दिगो रूपमा फोहर व्यवस्थापन गर्न जग्गा छनोट गरी पूर्वाधार बनाउन लागिएको उनले बताए ।

पालिका प्रेस
थप जानकारी