• शम्भु अधिकारी/थाहा

पद्मकन्या क्याम्पसका मनोविज्ञान संकायमा अध्यनरत विद्यार्थीले मकवानपुरको थाहानगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी विश्व आत्महत्या रोकथाम दिवस मनाएका छन् । ‘कार्य मार्फत आशाको सिर्जना’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष १० सेप्टेम्बरमा मनाइने दिवस थाहानगरको जनकल्याण माविमा मनाइएको हो । थाहानगरका नगर प्रमुख विष्णु बिष्टले आत्महत्या गर्न लागेको व्यक्तिलाई बुझ्ने र सहयोग गर्ने कुरा वा त्यस्तो जोखिम वा दुर्घटना हुनसक्छ भन्नेबारे बुझाउन सके आत्महत्याको संख्यामा कमी ल्याउन सकिने बताए । परिवार र साथीभाई चनाखो भए आत्महत्या गर्ने व्यक्तिहरूलाई सुरुमा नै सहयोग दिने ठाउँहरूसम्म पु¥याउन सके घटना हुनबाट जोगाउन सकिने नगर प्रमुख विष्टले बताए ।

विद्यालयमा नगर प्रमुख्सहित शिक्षक विद्यार्थी बिच आत्महत्या रोकथाम विषयक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा मनोवैज्ञानिक शिक्षक पदमराज जोशीले आत्महत्याको ‘नकारात्मक’ सोच आएको अवस्थामा विभिन्न हेल्पलाइनहरूमा सम्पर्क गरी आफ्ना सोचहरूलाई सकारात्मक बनाउनतर्फ लैजानुपर्ने उल्लेख गर्दै आवश्यक पर्दा औषधि र मनोपरामर्श सेवा दिएर निको बनाउन सकिने बताए । जोशीले आत्महत्यालाई मानसिक रोग भन्दा पनि ‘कमजोर’ मन भएकाहरूले चाल्ने कदम भएकोले समाजमा व्याप्त हुनु नेपालको सन्दर्भमा ठूलो समस्या रहेको बताए ।

प्राध्यापक डाक्टर रामप्रसाद पौडेलले आत्महत्या नियन्त्रणका लागि आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए । मनोवैज्ञान विभाग पद्मकन्या क्याम्पसका प्रमुख कविता खातीले भुकम्प र कोरोना महामारी पछि आत्महत्या तथा मनोसामाजिक समस्यामा वृद्धि भएको बताउदै अहिले मनोरोग बिकराल समस्याको रुपमा अगाडि बढेको तर समस्याको पहिचान नहुदा मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणमा समस्या परेको बताइन् । उनले आत्महत्या पनि एकखाले रोग हो भन्ने जानकारी पु¥याउन विद्यालयस्तरबाट नै शिक्षा प्रदान गर्नुपर्ने समुदायमा मानसिक स्वास्थ्य संम्बन्धी जनचेतनाको खाचो परेको हुँदा पद्मकन्याका विद्यार्थीलाई स्थानीय तहले प्रयोग गर्न सकिनेमा जोड दिदै त्यस्को लागि सहयोग गर्न तत्पर रहेको बताइन् ।

जनकल्याण माबिका सहायक प्रधानाध्यापक मनोज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, थाहानगर शिक्षा शाखाका अधिकृत माधव बिक्रम मल्ललगायत शिक्षक, विद्यार्थीहरुको उपस्तिथी रहेको थियो।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको उल्लेख गर्दै ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने उल्लेख गरेको छ ।

पालिका प्रेस
थप जानकारी