मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य विरोध खतिवडाले थाहानगरको आग्रा क्षेत्रको विकासका लागि आफू प्रतिवद्ध रहने बताएका छन् । उनले पछाडि पारिएको क्षेत्रको विकास आफ्नो जहिल्यै प्राथमिकतामा हुने बताउँदै थाहानगरको आग्रालाई सम्वृद्ध र सक्षम बनाउनका लागि योजना निर्माण र कार्यान्वयमा सहयोग गर्ने बताए ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका खतिवडाले आग्रामा ठुला योजना ल्याउने सन्दर्भमा दामगाडे–महादेबेशी सडकलाई प्राथमिकतामा राख्दै उक्त सडकको स्तरीकरणमा बजेट व्यवस्थापन गरेको बताए । आग्रा स्वासथ्य चोकीले संचालनमा ल्याएको एम्बुलेन्स सेवाको उद्घाटन गर्दै नागरिकले सहजै स्वास्थ्य सेवा पाउने वातावरण बनाउनका लागि आफू हरदम तयार रहेको उल्लेख गरे । थोरै समय मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा सक्दो योगदान दिएको बताउँदै अझै पनि यहाँको विकास र सम्वृद्धिका लागि निरन्तर सहयोग रहने उनको भनाइ थियो ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’ले पूर्व स्वास्थ्य मन्त्री खतिवडाले थाहानगरको विकासमा पु¥याउनु भएको विकास योगदानको चर्चा गरे । नगर प्रमुख विष्टले खतिवडा मन्त्री भएपछि संघ र प्रदेश सरकारको योजनाबाट दामगाडे महादेबेशी सडक, दामगाडे खानेपानीलगायत स्वास्थ्य संस्थाहरुको विकासको लागि बजेट व्यवस्था भएको उल्लेख गर्दै पूर्व मन्त्री खतिवडाको प्रशंसा गरे ।

थाहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हेमकुमार थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, थाहा नगरपालिका वडा नम्बर ८ का पुर्व जनप्रतिनिधिहरु टिकाराम रुम्बा, सुमन कार्की, नेकपा एकीकृत समाजवादिका नेता गौतम बुद्ध लामा, नेकपा एमालेको जिल्ला सदस्य शिवराम थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका अतिथीहरुलाई आग्रा स्वास्थ्य चौकी प्रमुख लव बहादुर थापाले स्वागत गरेका थिए । उनले आग स्वास्थ्य चौकी एककोठे कच्ची भवनबाट अहिलेको अवस्थासम्म आउनका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । अहिले स्वास्थ्य चौकी भवन नेपाल सरकारको मापदण्ड अनुसार निर्माण भई संचालनमा आउनका लागि सहयोग गर्ने च्वाइस नेपाल, एम्बेलेन्स सेवाका लागि सहयोग गर्ने भारतीय राजदुतावासप्रति थापाले आभार व्यक्त गरे ।

चार रोपनी क्षेत्रफलमा फैलिएको स्वास्थ्य चौकीमा प्रयोगशाला सुविधा समेत रहेको छ ।