मकवानपुरको मनहरी गाउँपालिकाकाका ९ वटै वडा सचिव र कम्प्युटर अपरेटर तथा पालिकास्तरीय मानव बेचबिखन रोकथाम समितिका सदस्यहरुका लागि सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी प्राविधिक अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

ज्येष्ठ नागरिक, महिला तथा बाल बालिका मन्त्रालयले तयार पारेको सामाजिक सूचना व्यवस्थापन प्रणालीबारे प्राविधिक ज्ञान दिनका अभिमुखीकरण कार्यक्रम गरिएको हो । शान्ति फाउण्डेसनले युएसआइडी र युके एडको सहयोगमा सञ्चालन गरेको सम्मान परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । फाउण्डेसनकी जिल्ला कार्यक्रम अधिकृत सीता गुरुङका अनुसार मन्त्रालयले तयार पारेको प्रणालीलाई कार्यान्वयन गर्ने सरकारको तयारी छ । हाल परियोजना लागू भएका पालिकाहरुमा यो प्रणालीको अवलम्बन गर्ने तयारी भइरहेकाले प्राविधक अभिमुखीकरण गरिएको उनले बताइन् ।

यो सूचना प्रणाली अन्तर्गत महिला, बालबालिका, स्थानीय तहका उजुरी, ज्येष्ठ नागरिक, अपांगता लगायत सामाजिक सेवासँग जोडिएका बिषयहरुको तथ्याङ्क संकलन गरी अपलोड गरिनेछ । पालिकाभर रहेका सामाजिक क्षेत्र सेवा अन्तर्गतका तथ्याङ, प्रगति विवरणसहित अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र समेत निर्माण गर्न सकिनेगरी सफ्टवेयर तयार भएको बताइन्छ ।

गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सूचना प्रविधि अधिकृत आशिष मल्ल र विनरक इन्टरनेशनलका दिलबहादुर गोलेले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, सामाजिक शाखा प्रमुख शैलेश बास्कोटा, शान्ति फाउण्डेसनकै सहजकर्ता देवकी ढुंगाना लगायत सहभागी थिए ।

पालिका प्रेस
थप जानकारी