सिन्धुपाल्चोकका चौतारा साँगाचोकगढी नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाले पशुपालनतर्फ किसानलाई आकर्षित गर्न अनुदानको व्यवस्था गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको हो ।

नगरपालिकाअन्तर्गतको पशु सेवा शाखाको कार्यक्रमअनुसार साउन १ गतेदेखि सुत्केरी भई दूध दिँदै गरेका गाई भैँसीलाई पोषण आहारका लागि प्रोत्साहन अनुदान उपलब्ध गराइने नगरपालिकाको पशु सेवा प्राविधिक रवीन्द्र सापकोटाले जानकारी दिए ।

गर्भिणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकाले नगरबाट अनुदान योजना ल्याइएको सापकोटाले बताए ।

नगरपालिकाले प्रतिसुत्केरी गाईभैँसी बराबर रु दुई हजार पाँच सय नगद किसानलाई उपलब्ध गराउने छ । पोषण अनुदानका लागि किसानले सम्बन्धित वडाको सिफारिस पत्र, पशु बिमा पोलिसी प्रतिलिपि, सुत्केरी गाई वा भैँसीको बच्चासहितको रङ्गीन फोटो र सम्बन्धित पशुधनीको नागरिकताको प्रतिलिपि नगरपालिकाको पशु सेवा शाखामा बुझाउनुपर्नेछ ।

पाँचपोखरी थाङ्पाल गाँउपालिकामा भने पशु धन बिमा कार्यक्रम सुरू गरिएको छ । बिमा ऐन, २०४९ बमोजिम कारोबार गर्न इजाजत प्राप्त संस्थासँग गाउँपालिकाभरका कृषकले पालेका पशु चौपायाको बिमा गरिनेछ । बिमा शुल्क दर, बिमाका शर्त, बिमा समितिको निर्देशिका तथा परिपत्रबमोजिम हुने गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।

पशु शाखाका प्रमुख माईसिहं तामाङका अनुसार गाउँपालिकाभित्र पशु धन बिमा गर्न इच्छुक पशुधनीले गाँउपालिकाले पशुधन बिमा गर्न सम्झौता गरेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत पशु चौपायाको बिमा गर्न सकिने छ

पालिका प्रेस
थप जानकारी