मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधिमा मकवानपुरगढी गाउँपालिकाले उपाधि जितेको छ ।

हेटौंडाको हुप्रचौरमा १२ असोजमा सम्पन्न फाइनल खेलमा बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले जिल्लास्तरीय महिला भलिवल उपाधि जितेको हो । मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै मकवानपुरगढीले नगद ५० हजार सहित शिल्ड, मेडल हात पार्दा उपविजेता बकैयाले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल हातपार्न सफल बन्यो ।

प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित भईन् । मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन, उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की भए ।

प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिईन् ।

पालिका प्रेस
थप जानकारी