मकवानपुरको थाहानगर स्थित ऐतिहाँसिक कुन्छाल र कुलगाउँको नेवारी समुदायको प्रचलित तथा परम्परागत भजन ‘दाफा भजन’को संग्रह प्रकाशन गरिएको छ । नयाँ पुस्तालाई आफ्नो रीतिरिवाज र परम्परा हस्तान्तरण गर्ने उद्देश्यसहित भजनको लिपीलाई संरक्षण गर्नको लागि संग्रहित गरिएको हो । थाहा नगरपालिका सामाजिक विकास शाखाको आर्थिक सहयोगमा प्रकाशन गरिएको ‘दाफा भजनमाला’को बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान र थाहानगर प्रमुख विष्णु विष्टले संयुक्त रुपमा १४ असोजमा विमोचन गरे ।

थाहा नगरपालिका वडा नम्बर १ र सुनौलो सिकाइ केन्द्र र जीवन्त शिक्षाको सहकार्यमा आयोजित कार्यक्रममा भजनमालाको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा सुनौलो विकास केन्द्र बारे साक्षात्कार तथा स्वयंसेवी शैक्षिक अभियान जिवन्त शिक्षाद्वारा जीवन, जगत र योगाको बारेमा जानकारी दिदै पुर्वीय दर्शनको आध्यात्मिक विशेषताको बारेमा प्रष्ट पार्दै साधना र योगको फाइदाको बारेमा चर्चा गरिएको थियो । भजनमालामा कुन्छाल र कुलगाउँका नेवार समुदायले विभिन्न चाड तथा पुजापर्वमा गायिने धार्मिक ग्रन्थहरुको नेवारी भाषामा लिपिवद्ध गरिएको भजन मालाका सम्पादक तथा संकलक रुपचन्द्र गोपालीले बताए ।

दशै विशेष शुभकामना आदानप्रदान तथा चियापानसहितको कार्यक्रममा प्रमुख अतिथी मन्त्री मोक्तानले नेवारी संस्कृति र परम्पराको महत्व र संरक्षणका विषयमा चर्चा गरिन् । सो अवसरमा थाहानगरका प्रमुख विष्णु विष्टले नेवारी संस्कृतिको साथै योग साधना र आध्यात्मको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा कुन्छाल कुलगाउँको नेवारी संस्कृति र परम्परा सहित दाफा भजनलाई जिवित राख्न योगदान गर्ने कुलगाउँका मुलगुरु हर्ष बहादुर गोपाली र कुन्छालका मुलगुरु धन बहादुर गोपालीलाई प्रमुख अतिथी मन्त्री मोक्तानले सम्मानपत्र तथा दोसल्ला र नगद सहित सम्मान गरिन् । सो अवसरमा कुन्छाल महिला बासुरी समुहलाई प्रसंसापत्र सहित गरिएको थियो ।

थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपाली, जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सुवर्ण गोपाली, वडा सदस्यहरु पार्वती सुनुवार, अनिता बल, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, जिवन्त शिक्षाका अध्यक्ष राजन विंडारी, सुनौला माविका अध्यक्ष प्रमोद गोपाली, प्रधानाध्यापक कृष्ण प्रसाद लामिछाने, सुनौलो सिकाइ केन्द्रका अध्यक्ष, रुपचन्द्र गोपाली, एकीकृत समाजवादी थाहा नगर अध्यक्ष सानुकाजी गोपाली, नेकपा माओवादी बागमती प्रदेश सदस्य इन्द्र श्रेष्ठलगायतकाको उल्लेख्य उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी