मकवानपुर थाहा नगरपालिकामा संचालन भएको प्रथम जिल्लास्तरीय बिच भलिबलको उपाधी विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ । १७ असोजमा थाहानगरको जनकल्याण माविकास खेल मैदानमा भएको फाइनल खेलमा विनयबावुले किङ्स ब्रदर्स टिमलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा विजयी भएसंगै विनयबावुले नगद ५० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी पुरस्कार पाएको छ । प्रतियोगितामा दोश्रो हुने किङ्स ब्रदर्सले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेश्रो हुने थाहा नगरपालिका २ नम्बर वडा टिमले नगद १० हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विनयबाबु स्मृति प्रतिष्ठानका बलराम सुवेदी घोषित भए । पुडासैनीले नगद ५ हजार प्राप्त गरे भने प्रतियोगिताको अनुशासित टिम दाजुभाइ टिम थाहा नगरपालिका वडा नम्बर २ घोषित भई नगद ५ हजार पाएको छ । विजयी टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले पुरस्कार वितरण गरेका थिए । १४ असोजबाट शुरु भएको प्रतियोगिता थाहा कला केन्द्रले आयोजना गरेको हो । प्रतियोगितामा मकवानपुर जिल्लाका ४० टिमको सहभागिता रहेको थियो ।

बिच भलिबल प्रतियोगिताका संयोजक युवराज बिष्टको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा नेकपा एमालेकी नेतृ कल्पना बलामी, नेकपा माओवादी केन्द्र थाहानगर अध्यक्ष बिनोद कुमार लामा, थाहानगर खेलकुद विकास समिति संयोजक टीका स्याङ्तान, थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, १ नम्बर वडाध्यक्ष हेरमान गोपाली, ३ नम्बर वडा सदस्य कृष्णकुमार कार्की, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, थाहानगर भलिवल संघका अध्यक्ष वसन्त गोपाली, पालुङ क्याम्पस व्यवस्थापन समिति सदस्य लक्ष्मण विष्टलगायतकाको आतिथ्यता रहेको थियो ।

समापन समारोहमा अतिथिहरुले थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्नको लागि प्रतियोगिताले योगदान दिएको प्रतिक्रिया जनाए । उनीहरुले खेलाडीहरुलाई बधाई, शुभकामनाको साथै खेलकुदमा निरन्तरताको कामना गरे । प्रतियोगिता अवधिभर नेपाल भलिवल संघका भुतपुर्व अध्यक्ष अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री प्रकाश थपलिया र राष्ट्रिय रेफ्री विनोद श्रेष्ठले निर्णायक थिए । पुरस्कार वितरण कार्यक्रमका अवसरमा प्रतियोगिता संचालन गर्न सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र दिइएको थियो ।

पालिका प्रेस
थप जानकारी