मकवानपुरको ग्रामीण जागरण विकास संस्था नेपाल (राडो नेपाल)ले २९ औं साधारणसभा गर्दै गतवर्षमा भएका कामको प्रगति प्रस्तुत गरेको छ । हेटौंडामा भएको राडो नेपालको साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले मकवानपुरमा आर्थिक वर्ष २०७८/०७९ मा ७ करोड २३ लाख बजेटको विभिन्न कार्यक्रम गरेको छ । राडोले शिक्षा, स्वास्थ्य, खानेपानी, बालमैत्री शासन, बाल विवाहबिरुद्धलगायत विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालित विपद् जोखिम न्यूनीकरण जलवायु परिवर्तन अनुकूलन कार्यक्रम, खानेपानी योजना निर्माण मर्मत सुधार, कोभिड प्रभावित परिवार, पालिकालाई सहयोग, वाल संरक्षण तथा मानव बेचविखनबिरुद्ध कार्यक्रम र प्रत्याभूत संचार कार्यक्रमअन्तर्गत् कार्यक्रमहरु गरेको राडोका अध्यक्ष कृष्ण धितालले जानकारी दिए ।

राडोले जिल्लामा खानेपानी योजना निर्माण ३ वटा योजना पूरा गरेको छ । खानेपानीको योजनाबाट मकवानपुरगढी र मनहरी गाउँपालिकाको १ सय ६४ घरधुरी लाभान्वित भएका छन् । मनहरी, भीमफेदी र बागमती गाउँपालिकामा खानेपानी योजना निर्माण मर्मतसुधार अन्तर्गत् ९ वटा विद्यालयहरुमा काम गरिएको छ । यसैगरी, कोभिड प्रभावित १ सय ४० परिवारलाई खाद्यान्न सहयोग गरिएको संस्थाले जनाएको छ । जसमा प्रतिपरिवार १३ हजार ५ सयको दरले सहयोग गरिएको थियो । संस्थाले कोरोना भाइरसको महामारीको बेलामा मास्क लगाउ अभियान नै सञ्चालन गरेको थियो । कोभिडविरुद्धको खोप अभियानमा ३ सय महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरी जिल्लाको १० वटै स्थानीय तहका अस्पतालहरुमा कोभिडविरुद्धका मेडिकल सामग्री सहयोग गरेको थियो । संस्थाले बालमैत्री स्थानीय शासनयुक्त पालिका निर्माण तथा घोषणामा समेत सहयोग गर्दै आएको छ । यसैगरी बाल विवाह, मानब बेचबिखनविरुद्धका अभियानहरु गर्दै आएको राडोका कार्यक्रम संयोजक दीपेन्द्र पाठकले बताए ।

राडो नेपालले जिल्लाको ४ वटा पालिकाहरुमा बाल आकस्मिक कोष स्थापना तथा कार्यविधि निर्माणमा सहयोग गरेको जनाएको छ । २ पालिकाहरुमा स्थानीय आपत्तकालीन कार्य संचालन कक्ष स्थापना, कार्यविधि निर्माण तथा सामग्री सहयोग गरेको जनाएको छ । संस्थाले विगतमा भुकम्पमा परेर आवास गुमाएका ७ सय ५६ परिवारलाई ५ लाख बराबरको आवास नै निर्माण गरी हस्तान्तरण गरेको थियो । राडोले जिल्लास्थित अधिकांश गाउँपालिकामा झोलुङे पुल निर्माण गरेको छ । अध्यक्ष धितालको सभाध्यक्षता तथा मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

पालिका प्रेस
थप जानकारी