मकवानपुर थाहा नगरपालिकाका महिला जनप्रतिनीधिहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम भएको छ । पालिकाको आयोजनामा उद्घोषण, नेतृत्व विकास तथा कानूनी शिक्षा सम्बन्धि तालिम ३१ असोजदेखि २ कात्तिकसम्म इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा भएको हो । सिम्लाङको डि–लेकसाइड सिम्लाङ होटलमा भएको तालिममा थाहा नगरपालिकाका महिला जनप्रतिनीधि २४ जना र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

तीनदिनसम्म संचालन भएको तालिम महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाको व्यवस्थापनमा भएको हो । तालिमका सहभागीहरुलाई कुमार नेगी, सुरज कुमार भुजेल र अधिवक्त प्रवीण हुमागाईले सहजीकरण गरेका थिए । तालिममा सैद्धानितकसंगै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । सहभागीहरु तथा महिला जनप्रतिनीधि रितु कार्कीले तालिम निकै प्रभावकारी भएको धारणा राखिन् । उनले जनप्रतिनीधि भन्ने वित्तिकै अरुले सोच्ने र आफूमा हुने सीपबीच अन्तर हुने भएकोले सीप र कानूनी शिक्षा सम्बन्धी तालिम पाएर थप मद्दत मिलेको बताइन् ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा अधिकृत हरि बहादुर खपाङ्गी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा मोक्तानलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि काफ्लेले तालिम भएपनि सिकाई उपलब्धी देखिएकोमा खुशी व्यक्त गरे । उनले जनप्रतिनीधिहरुलाई नेतृत्व विकाससंगै बैठक संचालन, सभा संचालन, योजना तर्जुमा तथा अन्य आधारभूत विषयमा समेत तालिम दिन सके अझ प्रभावकारी हुने भएकोले त्यस विषयमा समेत कार्यालयले योजना बनाउने बताए । उनले जनप्रतिनीधिहरुलाई पूर्वाधार मात्र नभई यो पनि विकासकै चरण भएको सुझाए ।

समापन कार्यक्रमको अवसरमा रितु कार्की, अन्जु श्रेष्ठ, अनिता बललगायतले डेमो कार्यक्रम संचालन गरेका थिए भने सहभागीको तर्फबाट कविता विष्टले तालिमको प्रभावकारितकाो विषयमा मन्तव्य व्यक्त गरेकी थिइन् । समापन कार्यक्रमको अवसरमा तालिमलाई व्यवस्थित रुपमा संचालन र सिकाईलाई व्यवहारमा उतार्न महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा मोक्तानले आग्रह गरिन् । शाखा प्रमुख मोक्तानले तालिम सफल बनाउनको लागि सहयोग गर्ने सहभागी तथा सम्पूर्णमा धन्यवाद व्यक्त गरिन् । थाहा नगरपालिका सामाजिक विकास समिति सदस्य पवित्रा ठकुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरुको तर्फबाट कुमार नेगीले मन्तव्य व्यक्त गरेका थिए ।

 यसअघि ३१ असोजमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले तालिमको उद्घाटन गरेका थिए । उनले तालिमलाई उपलब्धी मूलक बनाउकनका लागि आग्रह गरेका थिए ।

पालिका प्रेस
थप जानकारी