मकवानपुरको थाहा नगरपालिकाका किसानका लागि सहज रासायनिक मलको आपूर्तिकालागि नगर प्रमुखसहितको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसंग भेटेर छलफल गरेको छ ।

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्ट नेतृत्वको उप प्रमुख भरत गोपाली र किसानहरुसहितको टोलीले मुख्यमन्त्री पाण्डे, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेशका सचिव डा. शरण कुमार पाण्डे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई हेटौंडामा भेटी बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रमा रासायनिक मलको अभावका कारण उत्पन्न समस्या समाधान गर्नको लागि आग्रह गरेको हो । भेटमा थाहा नगरपालिकाका प्रमुख बिष्टले थाहानगरमा एकै सिजनमा तीन पटकसम्म तरकारी उत्पादन हुने भएकोले प्रदेश सरकारले निर्धारण गरेको कोटाले मात्रै नपुग्ने भएकोले मलको बितरण प्रणालीलाई पुनः बिचार गर्न अनुरोध गरे ।

यसैबिच थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले कृषकको आवश्यक्तालाई मध्येनजर गरी सहज रुपमा रासायनिक मल उपलब्ध गराउन अनुरोध गरे । छलफलकै क्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले रासायनिक मल सहज रुपमा उपलब्ध गराउन पहल गर्ने प्रतिक्रिया दिए । उनले थाईल्याण्डको एक कम्पनीसंग बागमती प्रदेशमै रासायनिक मलको कारखाना स्थापना गर्नकोलागि पहल भईरहेको समेत बताए ।

बागमती प्रदेश कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले थाहानगरको लागि थप रासायनिक मलको आपूर्ति गरि पहिलो प्राथमिकतामा राखि बितरण गर्ने ब्यवस्था गर्ने बताए । छलफलका क्रममा थाहा नगरका अगुवा कृषकहरुले रासायनिक मल बिना कृषि कार्य असम्भव भएको भन्दै सहजरुपमा मल प्राप्त हुन नसके आन्दोलन गर्नुको बिकल्प नभएको बताए ।

सहजरुपमा रासायनिक मलको आपूर्तिका लागि पहल तथा छलफलमा थाहा नगरपलिकाका निवर्तमान प्रमुख लवशेर बिष्ट, समाजसेवी बिष्णु प्रसाद ढकाल, थाहा नगरपालिका कृषि विकास शाखा प्रमुख सञ्जय तिवारी र थाहा नगरका अगुवा कृषकहरु, कृषि सामग्री कम्पनी लि. बागमती प्रदेश प्रमुख प्रकाश ज्ञावली, साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका लेखापाल मधुसुदन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी