मकवानपुरको बागमती गाउँपालिकामा ४ पुसबाट पुनः जग्गा नापी कार्य सुरु गरिएको छ । वडा नम्बर २ मा बाँकी रहेका जग्गाबाट नापी कार्य सुरु गरिएको हो । पालिकाले भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने हेतुले झण्डै तीनवर्षअघिदेखि जग्गा नापीको कार्य चलिरहेको छ । तर, स्थानीय निर्वाचन र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले रोकिएको नापी कार्यले निरन्तरता पाएको हो ।

गाउँपालिका अध्यक्ष सर्केश घलानका अनुसार वडा नम्बर ३, ४, ५ र ६ नम्बर वडाको नापी सकिएको र १, २, ७, ८ र ९ नम्बर वडाको नापी गर्न बाँकी रहेकाले त्यसलाई निरन्तरता दिइएको हो । पालिकाभरी चार हजार नागरिक भूमिहिन सुकुम्बासी रहेका छन् । त्यसमध्ये जम्मा ३ जनाले लालपुर्जा प्राप्त गरेका छन् । अव्यवस्थित बसोबास बढ्दै गएपछि तीनको व्यवस्थापन गर्न पालिकाले जग्गा नापी कार्यलाई अगाडी बढाएको हो ।

यसैबीच, बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले नापी कार्यको अनुगमन गरेका छन् । निर्वाचनका समय अव्यवस्थित बसोबास रहेका नागरिकलाई व्यवस्थित बनाउन लालपुर्जा दिने बचन अनुसार नापी कार्यलाई छिटो–छरितो पार्न प्राविधिक टोलीलाई निर्देशनसहित अनुगमन गरेका हुन् । अनुगमनका क्रममा माओवादी बागमती प्रदेश सदस्यहरु जीवन गोले र विवेक राई लगायत सहभागी थिए ।

पालिका प्रेस
थप जानकारी