वाग्मती प्रदेश मकवानपुरको थाहा नगरपालिकास्थित वडा नं ४ मा पर्दछ दामन । हामी २०८२ साल वैशाख २७ गते बेलुकाको करिब ८ बजे गैंडाकोटदेखि हेटौंडा बजार हुँदै दामन पुग्यौं । समुद्री सतहदेखि २३२२ मिटरको उचाइमा अवस्थित छ दामनको मुख्य बजार ।
त्रिभुवन राजपथ नामले प्रख्यात उक्त दामनको सडक बिस्तार हेटौडादेखि दामन पुग्न ६२ किलोमिटर तथा थानकोटदेखि दामन पुग्न ८० किलोमिटर पर्दछ । नेपालको पहिलो आधुनिक सडक ऐतिहासिक धरोहरको उत्कृष्ट नमुनाको रूपमा रहेको यो ‘बाइरोडको बाटो’ नामले प्रख्यात छ । त्रिभुवन राजपथ नामाकरण गरिएको उक्त बाटोले काठमाडौँदेखि दक्षिण तराईसम्मलाई जोडेको छ । यो मार्ग नेपाल भारत सहयोगार्थ १९५३ देखि १९५६ मा निर्माण गरिएको रहेछ । चितवनको करिब ४० डिग्रीको तापक्रमबाट बाँफिएर गएका हामीलाई दामनको चिसो हावापानीसँग स्पर्श गर्न पाउँदा स्वर्ग भन्ने नेपालका यस्तै ठाउँ रहेछन् भन्ने महसुस भयो ।
२८ गते बिहान दामनको ऋषेश्वर महादेव मन्दिरमा जाने निर्णय गर्यौँ । ऋषेश्वर महादेव मन्दिर समुद्री सतहदेखि करिब २२५० मिटर उचाइमा अवस्थित रहेछ ।
मकवानपुरको उत्तरी क्षेत्रस्थित दामनको श्री ऋषेश्वर महादेव मन्दिर धार्मिक सहिष्णुताको उदाहरणीय नमूनाको रूपमा पाइयो । त्रिभुवन राजपथको सिमभन्ज्याङ् र दामन बीचको सडकबाट उत्तरतिर प्रसिद्ध श्री ऋषेश्वर महादेव मन्दिर पर्ने रहेछ । यो मन्दिरमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूद्वारा समान श्रद्धाले पूजा गर्दा रहेछन् । त्रिभुवन राजपथमा पर्ने गेटबाट झन्डै १००० मिटर हिँडेर जानुपर्ने उक्त मन्दिरमा हामी जानको लागि तयार भयौँ । उकालो ओरालो,उकालोओरालो हुँदै सबै ठाउँमा सिँढी तयार बनाइएको छ ।
जङ्गलको बीचमा भएका कारण त्यहाँ जानको लागि शीतल अनि शान्त वातावरण पायौं। हरियो वन, सुन्दर डाँडाकाँडा त्यसभित्र बाटोको बीचमा रहेका ससाना खहरे खोला, छहरा, छाँगा, ओढार , रुख विभिन्न किसिमका लता लहरा , लालीगुराँस अन्य विभिन्न किसिमका वासनादारफूल तथा वारिपारि देखिने डाँडाकाँडा विभिन्न हिम् श्रृङ्खलाहरूले सबैको मनलाई लालायित पार्दो रहेछ। पर्याप्त मात्रामा हिउँ पर्ने उक्त स्थान वैशाख महिना भएर होला हामीले हिउँको महसुस गर्न भने पाएनौँ । हिउँ खेल्न नै नपाए पनि त्यहाँको चिसो पानी, चिसो हावा र प्राकृतिक सुन्दरताले भरिएको उक्त वातावरणले हाम्रो मन भने फुरुङ्ग थियो।
सडकबाट एक किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा पुग्नको लागि हामीलाई ३० मिनेटको समय लागेको थियो । हिँड्नलाई सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण बाटोमा सिँढी बनाइएको रहेछ । बीचबीचमा ससाना पार्टी र बस्नका लागि बनाइएका ससाना प्रतिक्षालय पनि भेटिए । जङ्गलभित्र एकान्त ठाउँमा यो मन्दिर छ । जङ्गलभित्र भएपनि खासै जङ्गली जनावरहरूको डर देखिएन । प्रकृतिको काखमा अवस्थित यस श्री ऋषेश्वर महादेव मन्दिरको अन्यभन्दा फरक विशेषता पाइयो । सायद बेसिजन भएका कारण हो कि कतैतिर फुलप्रसाद बेच्न बसेको पनि देखिएन ।
खुल्लाबाटो, स्वच्छ हावापानी, मनोरम दृश्यहरू मन्दिर पुग्नुभन्दा पहिलाका आकर्षण थिए । जङ्गलको बीचमा रहेको त्यस मन्दिरमा लामा पुजारी थिए । नजिकै गुम्बा पनि बनाइएको रहेछ । त्यसकारणले त्यहाँ विदेशी बुद्ध धर्म मान्ने पर्यटकहरू पनि आउँदा रहेछन् । बाटोमा हामीले दुई चार ग्रुप विदेशी पर्यटकहरू देख्यौं । श्री ऋषेश्वर महादेव मन्दिर नजिकै एउटा निर्माणाधीन गुम्बा भएका कारणले विशेषगरी बुद्ध धर्म मान्ने आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको देखियो। एउटै मन्दिरमा हिन्दु धर्मावलम्बी र बुद्ध धर्मावलम्बीहरुले एकैसाथ एउटै पूजा गर्ने प्रचलन भएकाले श्री ऋषेश्वर महादेव मन्दिरको छुट्टै विशेषता पाइयो। त्यसैले पनि यस क्षेत्रको धार्मिक महत्व अद्वितीय लाग्यो ।
श्री ऋषेस्वर महादेव मन्दिरका विभिन्न किंवदन्तीहरू रहेको पाइयो । हिन्दुहरूका आराध्यदेव श्री ऋषेश्वर महादेव र बौद्ध समुदायको आस्थावान गुरु रिम्पोक्षेले तपस्या गरेको स्थान त्यही भएका कारणले यहाँ एउटै मन्दिरमा हिन्दु र बौद्ध समुदायका भक्तजनहरू आउने गरेको स्थानीयले बताए । यसको अर्को किंवदन्ती अनुसार भगवान शिवलाई होहल्ला मन नपर्ने भएकाले एकान्त ठाउँ खोजेर उक्त जङ्गलको ओढारको ढुङ्गामा गएर ध्यान गरी बसेका थिए रे । त्यो कुरा एकजना पण्डितले थाहा पाएर त्यहाँ मन्दिर स्थापना गरेका थिए । पछि आस्थास्वरूप ती पण्डितले उक्त ढुङ्गामा सुनको मुकुट लगाइदिएछन् । एकजना लोभी व्यक्तिले उक्त मुकुट चोर्न खोज्दा अन्धो भएको हो भन्ने लोकोक्ति पनि रहेछ ।
पाप गर्न खोज्दा उक्त व्यक्तिलाई जस्तै सजाय हुन्छ भन्ने जनविश्वास पाइयो । मन्दिर नजिकै एउटा सानो सेतो दुध मिसिएको पानीको कुण्ड छ । त्यो पानीले नुहाएपछि पाप नष्ट हुन्छ भने अपवित्र भएर गए पनि त्यो पानीले नुहाएपछि पवित्र हुन्छ भन्ने भक्तजनहरूको कुरा रहेछ । पूजा गर्नुभन्दा पहिले भक्तजनहरूले त्यो पानीले कसैले नुहाउँदा रहेछन् भने कसैले सेचन गरेर भएपनि शुद्ध हुने गर्दा रहेछन् । पुजारीले हामीलाई पनि जल सेचन गर्न लगाएर मन्दिर दर्शन गर्न लगाउनुभयो ।
मन्दिर क्षेत्र वरिपरि अप्ठ्यारो भिरालो गुफा भएका कारण पुरानो स्थानलाई जस्ताको तस्तै राखेर हल्का सुरक्षाका लागि फलामका बारहरू राखिएको साधारण मर्मत गरेर बत्ती बाल्ने र पूजा गर्ने ठाउँ बनाइएको रहेछ । जति बत्ती बालेका छन् त्यति नै वरिपरि कचौरामा पानी भरेर राख्ने परम्परा रहेछ । तडकभडक रूपमा मन्दिरको सजावट नभएको हुनाले साँच्चै नै भगवानहरूको बास उक्त स्थानमा थियो होला भन्ने आभास हामीलाई पनि भयो ।
अर्को किंवदन्ती अनुसार उक्त स्थानमा भिक्षु पद्मसम्भवले तपस्या गर्ने क्रममा त्यहाँ पानीको अभाव भएपछि ध्यान गरेर पानी निस्किएको हो भन्ने जनविश्वास पनि पाइयो । बौद्ध धर्मावलम्बीहरूले भिक्षु पद्मसम्भवको पूजा गर्दा रहेछन् । ढुङ्गाको कपेरोबाट आएको त्यही पानी अझैसम्म प्रयोगमा आइरहेको छ । अर्को पहराको बीचमा महादेवले त्रिशुल घोप्दा पानी निस्किएको हो भन्ने लोकोक्ति पनि सुनियो ।
जे होस् हामीलाई अनौठो स्थानबाट बगेको त्यो पानी पिउँदा अमृत समान लाग्यो। ढुङ्गाको कपेरोबाट निस्किएको पानीमा नुहाएर जल चढाई ढुङ्गामा रहेको शिवजीको आकृतिमा दर्शन गरे मनले चिताएको पुग्छ भन्ने जनविश्वास पाइयो । मन्दिरमा लामा पुजारी भएका कारण नजिकै रहेको गुम्बामा आर्थिक स्रोत जुटाएर पुननिर्माण चलिरहेको छ । यस श्री ऋषेस्वर महादेव मन्दिरमा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरुले समान भक्तिभावले पूजाआजा गर्ने हुँदा हिन्दुहरूले शिवजी अनि बौद्धमार्गीहरूले पद्मसम्भव ( भिक्षु) मानेर पूजा गर्ने प्रचलन भेटियो। मन्दिरको पश्चिमपट्टि केही ढुङ्गाको कपेरामा शिवजीको आकारदेखिने रहेछ। ढुङ्गाकै आसन बनाएर ओढारमा शिवजीले ध्यान गरेर बसेको जस्तो आकृति त्यहाँ देखिँदो रहेछ । कुनैबेला यसै स्थानमा शिवजी ध्यान गरेर बसेका थिए भन्ने किंवदन्ती हामीलाई सुनाए ।
उक्त मन्दिरमा हरिबोधिनी एकादशी पर्वका अवसरमा भव्य मेला लाग्ने रहेछ । उक्त दिन भाकल अनुसार मन्दिर एरियामा बाबियोको डोरीमा फुलपाती राखेर ‘ फुल तार्ने ‘ प्रचलन रहेछ। श्री ऋषेश्वर महादेवको दर्शन गरे मनले चिताएको पुग्ने र छोरा नजन्मेकालाई छोरा जन्मिने जनविश्वास पनि रहेछ । यस श्री ऋषेश्वर महादेव मन्दिरमा तत्कालीन राजा त्रिभुवनले त्यहाँ गएर पूजा गरी छोरा बरदान मागेका हुनाले राजा महेन्द्र जन्मेका हुन् भन्ने किंवदन्ती पनि रहेको कुरा त्यहाँ बस्ने पुजारीले सुनाए ।
अत्यन्तै सुन्दर शान्त र मनोरम उक्त स्थानमा दर्शन गर्नका लागि मकवानपुर, धादिङ ,चितवन, तनहुँ , लमजुङ,काठमाडौँ, बारा, पर्सा ,काभ्रे लगायतका स्थानबाट आन्तरिक भक्तजनहरू पर्याप्त मात्रामा आउँदा रहेछन् । प्राकृतिक छटाले भरिपूर्ण भएको र सुन्दर दृश्यहरूको अवलोकन गर्न सकिने भएकाले सबैको मन त्यहाँ पुग्दा फुरुङ्ग नहुने कुरै थिएन ।
तसर्थ विभिन्न ऐतिहासिक तथा पौराणिक किंवदन्ती बोकेको दामनको यस श्री ऋषेश्वर महादेव मन्दिर लगायत वरिपरिको दृश्यले दर्शन गर्न आउने भक्तजन तथा घुम्न आउने पर्यटनहरूको मनलाई लालायित पार्दो रहेछ । अन्यभन्दा त्यहाँ मैले फरक पाएँ । ‘हिन्दु र बौद्धमार्गीबीच धार्मिक सहिष्णुता बोकेको दामनको श्री ऋषेश्वर महादेव मन्दिर’ उत्कृष्ट नमुनाको रूपमा पाइयो ।
अन्य ठाउँका मन्दिरहरुमा जताततै दानपेटिकाहरु राखिएको हुन्छ भने त्यहाँ दानपेटिका जताततै राखिएको भेटिएन । मन्दिर दर्शन गरिसकेपछि बाटैभरी लालीगुराँस ढाकमक्क फुलेको दृश्य ,विभिन्न किसिमका जडीबुटीजन्य वनस्पतिहरु हेर्दै निस्किएका हामी दिउँसोको करिब १ बजेर ३० मिनेटमा त्यहाँबाट फर्कियौं ।
लेखक विष्णु पन्थी (विनु) प्राध्यापक एवं साहित्यकार हुनुहुन्छ ।
































































प्रतिक्रिया दिनुहोस्