हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले दुईवटा विधेयक स्वीकृत गरेको छ । ८ पुसमा बसेको उपमहानगरको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य सेवा विधेयक, २०७९ र हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान विधेयक, २०७९ स्वीकृत गरेको हो ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार जनस्वास्थ्य सेवा विधेयकले उपमहानगरअन्तर्गत बन्ने अस्पताल तथा स्वास्थ्य सस्ंथाको सेवालाई प्रभावकारी बनाई समस्याहरु समाधान गर्ने र प्रतिष्ठान विधेयकले प्रज्ञा प्रतिष्ठान स्थापना गरि भाषा, संस्कृति तथा कलाको क्षेत्रमा काम गर्ने जानकारी दिए ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका बालबालिका सम्बन्धी ऐन, २०७७ को पहिलो संशोधन विधेयक २०७९, नगर शिक्षा ऐन, २०७४ पहिलो संशोधन विधेयक २०७९, खेलकुद विकास ऐन, २०७७ को पहिलो संशोधन विधेयक २०७९ कार्यपालिका बैठकमा स्वीकृत गरेको छ । बैठकले हेटौंडा उपमहा नगरपालिका नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि पनि स्वीकृत गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । स्वीकृत विधेयक, ऐन तथा कार्यविधि आगामी पुस १४ गते हुने नगरसभामा पारितको लागि पेश गरिनेछ ।

प्रवक्ता न्यौपानेको अनुसार ४ मंसिरमा सम्पन्न निर्वाचनको मतगणना गर्ने क्रममा हेटौंडा–२ स्थित सिद्वार्थ माविमा भएको टुटफुट, मर्मत र रंगरोगन गरेवापत एक लाख ३२ हजार ८ सय ४८ रुपैयाँ खर्च भुक्तानी गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । बैठकले हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा नेपाल नगरपालिका संघको सहकोषाध्यक्ष पदमा चयन भएकोमा बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

पालिका प्रेस
थप जानकारी