भरतपुर महानगरपालिकाले चितवनका १२ विद्यालयका ९८६ जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको छ। चिसो बढेसँगै विपन्न समुदायका बालबालिकाहरू विद्यालय जान नसकेपछि महानगरले न्यानो कपडा वितरण गरेको हो। बिहीबार पश्चिम चितवनको आधारभूत विद्यालय सिसाबास, जमानसिंह आधारभूत विद्यालय र आधारभूत विद्यालय खयरघारीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकालाई मेयर रेनु दाहालले कपडा वितरण गरेकी हुन्।

महानगरले अन्य ९ वटा विद्यालयमा पनि न्यानो कपडा पठाएको छ। बालबालिकालाई ट्र्याक, सुट र टोपी वितरण गरिएको हो। मेयर दाहालले गत तीन वर्षदेखि जाडोयाममा नियमितरूपमा न्यानो कपडा वितरण गर्ने गरेको बताइन्। ‘वडा नम्बर २८ र नारायणी नदीसँग जोडिएका पश्चिम चितवनका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरिएका छ,’ उनले भनिन्, ‘बालबालिकालाई नियमितरूपमा विद्यालय जाने वातावरण बनाउन महानगरले छात्रवृत्ती, साइकल वितरणजस्ता कार्यक्रमहरू गर्दै आएको छ।’

महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बालबालिकासँग मेयर कार्यक्रमअन्तर्गत यस वर्ष १७ वटा विद्यालयका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य रहेको बताए। उनले पहिलो चरणमा ९८७ जना बालबालिकालाई कपडा वितरण गर्न १५ लाख रुपैयाँ खर्च गरेको जानकारी दिए। ‘यो कार्यक्रम सञ्चालनमा आएपछि अहिलेसम्म महानगरपालिकाले ५० वटा विद्यालयमा पढ्ने बालबालिकालाई न्यानो कपडा वितरण गरिसकेको छ,’ पौडेलले भने, ‘यसले विपन्न समुदायका बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गरेको छ।’

बालबालिकासँग मेयर कार्यक्रमअन्तर्गत महानगरले विपन्न समुदायका बालबालिकालाई वार्षिक तीन हजार रुपैयाँ छात्रवृत्ती प्रदान गर्दै आएको उनले बताए। सोही कार्यक्रमअन्तर्गत छात्राहरूलाई साइकल वितरण गरिएको उनले बताए। ‘संघीय सरकारले विपन्न विद्यार्थी छनोट गरेर पाँच सय रुपैयाँ भत्ता दिन्छ, महानगरले त्यसमा तीन हजार रुपैयाँ थपिदिने गरेको छ। विद्यालय जान सजिलो होस् भनेर गत दुई वर्षमा ६ सय जना छात्राहरूलाई साइकल वितरण गरिएको छ, त्यो कार्यक्रमले यस वर्षपनि निरन्तरता पाउनेछ,’ पौडेलले भने।

पालिका प्रेस
थप जानकारी