कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुने भएको छ। यसका लागि नगरपालिकाले २५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ। वसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। वडा–११ मा बसेको सर्वपक्षीय बैठकमा सामुदायिक वनका उपभोक्ताले सो सहमति जनाएका हुन्।

वडाध्यक्ष शेरबहादुर साउदले सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरिएको बताए।

यसपछि वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र प्राविधिकको टोलीले शीतभण्डार गृह निर्माणका लागि स्थानीय छनोट गर्ने उनले जानकारी दिए। छलफल कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रनसिंह सुनारले वनलाई हानिनोक्सानी नहुने गरी शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने बताए।

‘वन संरक्षणकर्मी भएकाले म आफैंले सामुदायिक वनमा जग्गा उपलब्ध गराउन सक्दिनँ, गराउँछु पनि भन्दिनँ’, उनले भने, ‘उपभोक्ताले सहमति दिएका छन्। त्यसका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्छ।’  सामुदायिक वनका पूर्वअध्यक्ष धनबहादुर बमले हानिनोक्सानी नहुने गरी उपयुक्त ठाउमा शीतभण्डार निर्माण गरिनुपर्ने बताए।

राजनीतिककर्मी भक्तराज जोशीले सबैले एकबद्ध भएर वडामा आएको योजनालाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए। समाजसेवी गोपाल नाथले योजना निर्माणका लागि सबै क्षेत्रबाट सकारात्मक जवाफ आएकाले कार्यान्वयन हुनेमा ढुक्क रहेको सुनाए।

नगरपालिका क्षेत्रमा शीतभण्डार गृह नहुँदा व्यावसायिक खेतीमा संलग्न किसानले कृषिउपज, तरकारी, फलफूललगायत बाह्य क्षेत्रमा लगेर भण्डारण गर्नुपर्ने अवस्था छ। स्थानीय स्तरमै शीतभण्डार गृह निर्माण  भएपछि यस क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन्।

नगर प्रमुख रणबहादुर महराले शीतभण्डारका लागि केही रकम नगरपालिकाबाट विनियोजन गरिए पनि त्यसले योजना सम्पन्न गर्न नपुग्ने भएकाले प्रदेश र संघीय सरकारलाई आग्रह गरिने बताए।

पालिका प्रेस
थप जानकारी