छिमेकी जिल्ला तेह्रथुमको सुदापबाट बसाई सरेर आएको केही दिनमा विमला बस्नेतको गोठमा गाउँपालिकाले दुहुनाे गाई बाँधिदियो । उपहारमा गाई पाएपछि उत्साही बस्नेतले अब केही गाई थपेर व्यावसायिक पशुपालन थाल्ने योजना बनाउनुभएको छ ।

झापाको दमकबाट जोरपाटीमा बसाइँ सरेर आएका भरत परियार गाउँपालिकाले दिएको दुहुनाे गाई उपहार दिएपछि दूध खान मात्र होइन र जीविका चलाउन पनि सहज भएको बताउनुहुन्छ ।

अरू पालिकाबाट बसाइँ सरेर आउनेलाई आकर्षित गर्न धनकुटाको छथरजोरपाटी गाउँपालिकाले पालिकाले लागि लैनो गाई ‘उपहार’ दिन थालेको हो । अन्य पालिकाबाट आफ्नो पालिकामा बसाई सरेर आउन् भनेर अनुदानमा लैनो गाई उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ । स्थायी बसोबास गर्ने गरी बसाइँ सरेर आउने हरेक परिवारलाई प्रोत्साहन स्वरूप एउटा दुहुनो गाई दिन थालिएको हो ।

यो कार्यक्रम निकै प्रभावकारी भएको छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर लिम्बुले बताउनुभयो ।

धनकुटाका सात वटै पालिकामध्ये छथरजोरपाटी गाउँपालिकामा बसाइसराइको दर बढी छ । यो कार्यक्रम प्रभावकारी भएको र कार्यक्रम लागू भए यता ४३ परिवार अरू पालिकाबाट बसाइँ सरेर आएको छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ खेवाले जानकारी दिनुभयो । अहिलेसम्म अन्यत्रबाट बसाइँ सरेर आएका ३५ परिवारले लैनो गाई पाइसकेको गाउँपालिकाको पशु विकास शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

बसाइँ सरेर आउने परिवारलाई गाउँपालिकाले लैनो गाई किन्न ६१ हजार रुपैयाँ नगद दिने गरेको छ । बसाइँ सराई दर्ता गरी लालपुर्जा र वडाको सिफारिसका आधारमा यस्तो रकम उपलब्ध गराइने राईले बताउनुभयो। पालिकाकाबाट बसाइँ सरेर जानेको सङ्ख्या घटाउन गर्भवतीलाई मासिक १ हजारका दरले ९ महिनासम्म भत्ता उपलब्ध गराउने, गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बिमा रकमको आधा प्रिमियम तिरिदिने लगायत कार्यक्रम पनि लागू गरेको पालिकाका अध्यक्ष लिम्बुले बताउनुभयो ।

-सीअाइएनबाट

पालिका प्रेस
थप जानकारी