मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा गड्यौला मल उत्पादन प्रविधि सम्बन्धी एकदिने तालिम भएको छ । थाहा नगरपालिका वडा नम्बर ९ र मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संयुक्त आयोजनामा तालिम भएको हो ।

घर वरीपरी र समुदायमा हुने फोहोरलाई मोहोर बनाउने उद्देश्य तालिम संचालन गरिएको आयोजक थाहा नगरपालिका वडा नम्बर ९ र १० की कृषि प्राविधिक कमला सुवेदीले जानकारी दिइन् । मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा २४ पुसमा संचालित तालिममा ९ नम्बर वडाका किसानहरुको सहभागिता रहेको थियो । तालिमका सहभागी किसानहरुलाई त्रिभुवन विश्वविद्यालयकी सेवा निवृत्त प्रोफेसर डाक्टर आनन्दा शोभा ताम्राकार, मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका डाक्टर अनुपमा श्रेष्ठ र डाक्टर भुषण श्रेष्ठले सहजीकरण गरेका थिए ।

तालिम पश्चात् किसानहरुले गड्यौला मल उत्पादन गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ९ र १० की कृषि प्राविधिक कमला सुवेदी तथा प्रशिक्षकहरुले किसानहरुलाई गड्यौला मल प्रविधि सम्बन्धी प्राविधिक ज्ञानमा तालिम पश्चात पनि सहयोग गर्ने बताएका थिए । किसानले समूह बनाएर गड्यौला मल प्रविधि सम्बन्धी काम गर्न चाहेमा मागको आधारमा वडा कार्यालयले गड्यौला खरिदमा सहयोग गर्ने वडाध्यक्ष राजकुमार बलामीले बताए ।

पालिका प्रेस
थप जानकारी