मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिका क्षेत्रका विद्यालयको दिवा खाजामा स्थानीय रैथाने बालीको परिकार खुवाउनु पर्र्नेे निर्णय गरेको छ । स्थानीय रैथाने बाली प्रबद्र्धनमा लागेको गाउँपालिकाले हप्ताको एक दिन पलिका भित्रका सम्पूर्ण विद्यालयहरुमा दिवा खाजाका रुपमा स्थानीय स्तरमा उब्जने रैथाने वालीको परिकार खुवाउने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको अध्यक्षतामा २८ पुसमा बसेको कार्यपालिका बैठकले गाउँपालिका भित्र रहेका विद्यालयहरूमा प्रत्येक हप्ता बिहीवार विद्यार्थीहरूलाई स्थानीय एवम् रैथानेबालीका परिकार दिवा खाजाको रूपमा समावेश गर्ने निर्णय गरेको गाउँपलिकाका प्रमुख प्रशसकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । त्यस्तै बैठकले रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य समेत निर्धारण गरेको उनले बताए । बैठकले कोदोेको न्यूनतम समर्थन मूल्य प्रति केजी ४५ रुपैयाँ र फापरको प्रति केजी ८० रुपैयाँ निर्धारण गरेको छ ।

गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीलाई निकै महत्व दिएर त्यसको संरक्षण र सम्बद्र्धमा लागेको छ । स्थानीय स्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न योजनाहरु ल्याएर काम गरिरहेकै कारण हाल स्थानीय स्तरमा रैथाने बालीको उत्पादन समेत बृद्धि भएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताए ।

पालिका प्रेस
थप जानकारी