मकवानपुर थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा ७ माघमा भएको छ। झम्केश्वरी माविको सभाहलमा सम्पन्न संस्थाका अध्यक्ष अन्जल प्रधानको अध्यक्षतामा भएको साधारणसभा थाहानगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरे ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अन्जल प्रधानले १५ औंं वार्षिक साधारणसभा सम्म आइपुग्दा संस्थाले १५ वर्षको अवधिमा उल्लेख्य प्रगतिसंगै अनगिन्ती सामाजिक उत्तरदायित्व वहन गरेको बताउदै नेतृत्व जिम्मेवारी सफलतापुर्वक निर्वाह गरी संस्थालाई पारदर्शी, सबल, सुशासित र एकताबद्ध रुपले संचालन गर्न सहयोग गर्नेलाई धन्यवाद दिए । संस्थाले हाल १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने गरेको स्मरण गर्दै सदस्यहरुले संस्थाबाट नियमित रुपमा बचत तथा ऋणको कारोबार गर्ने, मासिक रुपमा संस्थाले सुचनापाटिमा टाँसेको बित्तीय विवरण तथा पर्ल्स अध्ययन गरी सुझाव दिने पद्धतिको विकास गर्न आग्रह गर्दै संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले प्रतिवेदन पेस गर्दै संस्थाको वार्षिक कारोवार १५ करोड १६ लाख पुगेको सभामा जानकारी गराए । सेयर रकम ९ प्रतिशतले वृद्धि भइ १ करोड ६५ लाख तथा बचत ११ करोड १८ लाख र ऋण लगानी ११ करोड १८ लाख रहेको प्रतिवेदन प्रस्तुत गरे । संस्थाको जगेडा कोषमा ७२ लाख ८७ हजार सदस्य राहत कोषमा १६ लाख र सेयर लगानी २७ लाख रहि खुद नाफा रहेको प्रतिवेदनमा उल्लेख छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख विष्टले आम नगरबासीले बैंक तथा सहकारीहरुमा अर्थिक कारोवार गर्दा अनावश्यक ऋण नलिन आग्रह गर्दै लिएको ऋण उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेमात्र नगरले अर्थिक समृद्धिको बाटो पहिल्याउने विश्वास व्यक्त गरे। उनले संस्थाले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

सभामा विशिष्ट अतिथि तथा थाहानगरका उपप्रमुख भरत गोपालीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए । उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्नेआवश्यकता रहेको पनि विचार व्यक्त गरे। साधारणसभामा थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, झम्केश्वरी माविका प्रधानाध्यापक उद्वव आचार्य, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष गुप्त बहादुर कार्कीलगायतकाले शुभकामना दियका थिए। साधारणसभाको उद्घाटन सत्रमा थाहानगर भित्र रहेका वित्तीय संस्थाका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा सेयर सदस्यहरुको उपस्तिथि रहेको थियो।

पालिका प्रेस
थप जानकारी