मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा किसानहरुका लागि आलु खेती बालीमा लाग्ने रोग सम्बन्धी विज्ञ सेवा प्रदान गरिएको छ ।

चित्लाङमा रहेको मदनभण्डारी विश्वविद्यालय, थाहा नगरपालिका वडा नम्बर ९ तथा स्वच्छन्द साना किसान कृषि सहकारी संस्था लि.को संयुक्त आयोजनामा विज्ञ सेवाका विषयमा छलफल भएको थियो । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजकुमार बलामी, सदस्य अन्जु श्रेष्ठ, वडा नम्बर ९ र १० की कृषि प्राविधिक कमला सुवेदी, मदनभण्डारी विश्वविद्यालयका डाक्टर अनुपमा श्रेष्ठ, डाक्टर रामेश्वर राइ, डाक्टर भुषण श्रेष्ठ, आलु विशेषज्ञ डाक्टर सर्वेश दास डंगोल लगायतकाको सहभागिता थियो ।

 १५ माघमा भएको कार्यक्रममा स्वच्छन्द साना किसान कृषि सहकारी संस्था लि. की प्रबन्धक शुक्ला गोपाली तथा सञ्चालक समितिका सदस्यहरु र वडा सदस्यहरु र किसानहरुको सहभागिता रहेको थियो । छलफलमा आलुमा लाग्ने रोगको विषयमा मदनभण्डारी विश्वविद्यालयका कृषि विज्ञहरुले किसान तथा सहभागीहरुलाई प्राविधिक विज्ञ सेवा प्रदान गरेका थिए ।

थाहा नगरपालिका वडा नम्बर ९ को कार्यालय र मदनभण्डारी विश्वविद्यालयको सहकार्यमा वडा तथा विश्वविद्यालयका कृषि प्राविधिक, विज्ञ तथा किसानबीच विज्ञ सेवा तथा कृषि प्राविधिक सेवाका विषयमा संयुक्त रुपमा विविध कार्यक्रमहरु संचालन हुँदै आएको छ । किसानहरुको सहजता र फाइदाका लागि कृषि केन्द्रित कार्यक्रमहरु संचालन गरिने वडाध्यक्ष राजकुमार बलामीले बताएका छन् ।

पालिका प्रेस
थप जानकारी