बागमती प्रदेश सरकारको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाएको छ ।

पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत शनिवार सम्म मन्त्रालयले प्रदेशका ४ हजार २६४ वटा भेडा र ८ लाख २८ हजार ९२५ वटा बाख्रालाई गरि जम्मा ८ लाख ३३ हजार १८९ वटा भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

फागुन १ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेशका १३ वटा जिल्लाका किसानले पालेका भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको अधिकारीले जानकारी दिए । खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको उनले बताए । अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आएको छ ।

पीपीआर भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ । नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ । यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको छ ।

पालिका प्रेस
थप जानकारी