धनगढीमा भएको सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको राष्ट्रिय भेलाले हेटौंडामा विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र स्थापना निर्णय गरेको छ । १९–२० फागुनमा सम्पन्न सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको भेलाले हेटौंडामा विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र खोल्नेसहित विभिन्न सात वटा निर्णय गरेको हो । सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरकी अध्यक्षसमेत रहेकी हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मिनाकुमारी लामाले भेलाको सभाध्यक्षता गरेकी थिइन् भने ललितपुर महानगरपालिकाको प्रमुख तथा सुटिनेटका कार्यकारी समिति सदस्य चिरिबाबु महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको बिधान उपर छलफल, परिमार्जन तथा प्रमाणिकरण गर्ने, सिटिनेटको सदस्यता सम्बन्धमा छलफल तथा निर्णय गरिएको हेटौंडा उपमहानगरकी प्रमुख लामाले जानकारी दिइन् ।

सिटिनेटको कोष स्थापना, संचालन र व्यवस्थापन सम्बन्धमा, सिटिनेटको १० औं कंग्रेस (अन्तराष्ट्रिय सम्मेलन) सन २०२६ मा पोखरा महानगरपालिकाको आतिथ्यमा गर्ने प्रस्ताव गरेको लामाले बताइन् । विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र हेटौंडा उपमहानगरपालिकामा स्थापना गर्ने निर्णय गरिएको लामाले बताइन् । सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको परिषद् बैठक बिराटनगर महानगरपालिकाको आतिथ्यतामा बिराटनगरमा गर्ने निर्णय भएको छ ।

सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको सहजिकरण संस्था भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिका तथा महासचिव रहेको तानसेन नगरपालिकाको समन्वयमा आयोजित भेलामा काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, बिराटनगर महानगरपालिका, भरतपुर महानगरपालिका, बिरगंज महानगरपालिका तथा विभिन्न उपमहागरपालिका, नगरपालिकाको नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु तथा संस्थागत सदस्यका प्रमुख लगायत ७२ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सिटिनेट सन् १९८७ मा स्थापित दिगो विकासको लागि प्रतिवद्ध एसिया तथा प्रशान्त क्षेत्रमा रहेका शहरी सरोकारवालाहरुको सबै भन्दा ठूलो संगठन हो । हाल १९ देशका १ सय ५४ सहर तथा संस्थाहरु यसका सदस्य रहेका छन् । जसमध्ये १ सय २ वटा पूर्ण सदस्य, ४९ संस्थागत सदस्य तथा ३ कर्पोरेट सदस्य रहेका छन् । सिटिनेट नेपाल राष्ट्रिय च्यापटरको स्थापना सिटिनेटको कामहरुको विकेन्द्रीकरण गरी यसको सदस्यहरुलाई परयोजनाको विकास गर्न सशक्त बनाउन, आफ्नो क्षेत्रको प्राथमिकताहरुको निर्धारण गर्दै सिटिनेटको संजाललाई अन्य स्थानीय निकाय तथा सम्भावित संस्थाहरु बीच बिस्तार गर्न सन् २००२ मा स्थापना भएको हो ।

सिटिनेटमा नेपालको ६ वटा महानगरपालिका, ५ वटा उपमहानगरपालिका तथा ४ वटा नगरपालिका पूर्ण सदस्यका रुपमा आवद्ध छन् भने अन्य ६ संस्थाहरु संस्थागत सदस्य रहेका छन् । भेलामा धनगढी उपमहानगरपालिकाको नगर प्रमुख गोपाल हमालले कार्यक्रममा स्वागत गरेका थिए । भेलामा काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन), पोखराका मेयर धनराज आचार्य, भरतपुरकी मेयर रेणु दाहाल, बुटवलका मेयर खेलराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी