हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने भएको छ । जताभावी देखिएका तारका कारण बजार क्षेत्रको सौन्दर्यमा कमि आएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको छ ।

३० फागुनमा बसेको उपमहानगरको २० औं कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको रुपमा रहेको १, २, ४, १० र ५ को केहि भागका पोलमा रहेको तारलाई भूमिगत गर्नेनिर्णय भएको हो । तार व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरणलाई कार्यपालिकाको बैठकको निर्णयसँगै सिफारीस पत्र पठाउँने तयारी भएको उपमहानगरले जनाएको छ । बैठकले हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रुपमा विकास गर्नका लागि नगरका बिभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाईटको व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल भैरहेको जनाएको छ ।

बजारसहित नगरका सबै वडालाई समेटेर लाइटको व्यवस्थापनका लाग्ने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले भनिन–‘पहिले बजार केन्द्रित व्यवस्थापनको कुरा गरीएको थियो तर अहिले नगरका सबै वडामा आवश्यकता अनुसार लाईट राख्ने तयारी गरेका छौं ।’ उनले भनिन्–लाईट राख्ने ठाउँ र संख्या बारे अध्ययन भैरहेको छ । लाईटका लागि विद्युुत प्राधिकरणसँग सामान्य सहमति बनिसकेको बताइएको छ । सहमति अनुसार ४० प्रतिशत अनुदान प्राधिकरणले दिने छ भने ६० प्रतिशत लगानी उपमहानगरले गर्ने भएको छ । पहिलो चरणमा उपमहानगरले हाइ मास्ट लाइटका लागि ६० लाख रुपियाँ बजेट छुट्याएको शहरी पुर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले बताए ।

पहिलो चरणमा २५ वटा १० देखी १६ मिटर उचाई भएका लाईटको माग गर्ने तयारी उपमहानगरले गरेको उनले बताए । त्यस्तै कार्यपालिका बैठकले उपमहानगर प्रवेशको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ । बैठकले नगरको पुर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पाएक पर्ने स्थानमा आवत जावत गर्नेका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने निर्णय गरेको हो । त्यस्तै न्यून आय भएका गरीव तथा बिपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।

नगरस्तरीय स्वास्थ्य बीमा लाभग्राही छनौंट समितिले २०७९ फागुन ११ गते गरेको निर्णयबाट भएको सिफारीस अनुसार उनिहरुको स्वास्थ्य बीमा गरीने निर्णय भएको प्रवक्ता सबिन न्यौपानेले बताए । बैठकले सार्वजनिक पुर्वाधार सम्पत्ती संरक्षण, उपमहानगरको पाठ्क्रम निर्माण तथा कार्यान्वयन कार्यविधी २०७७ संसोधन, बाटो सार्वजनिक, घर नक्सा अभिलेखिकरण तथा नियमित गर्ने, अनलाईन नक्सा पास सहित विभिन्न खेलमैदान निर्माण सम्बन्धी निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी