

रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक उत्पादन थालिएको बताए। उनले ‘ब्रान्डिङ’ गरेर बजारमा लैजाने तयारी भइरहेको जानकारी समेत दिए।
गुन्द्रुक उत्पादनका लागि कारखाना नै सञ्चालन गरिएको छ । यसको प्रशोधनका लागि कामदार राखिएको छ । सरसफाइका लागि पर्याप्त व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । साथै पहिला सागलाई तीन पटकसम्म धोएर मात्र ‘प्रोसेसिङ’को काम अगाडि बढाइन्छ ।
यसरी खेर जाने सागलाई गाउँमा नै खाद्य वस्तु निर्माण हुन थालेपछि किसान खुसी भएका छन् । उनीहरुले सडेर जाने वस्तुबाट नै गुन्द्रुक निर्माण हुने र बिक्री गरिने भएपछि उत्पादन खेर नजाने बताउन थालेका छन् ।
अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु १० निर्धारण गरिएको छ । साग गाउँपालिकाको कारखानालाई दिने किसानले सागमा प्रतिकेजी रु छ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ । त्यस्तै गुन्द्रुकमा प्रतिकेजी रु ८० अनुदानको व्यवस्था छ । त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ ।
नबिकेको साग पुन गाउँमा नै बिक्री हुने भएपछि खेती गर्न पनि जाँगर चलेको रोङ– ५ की मेनुका राईको भनाइ छ । रायोको साग प्रतिकेजी रु १६ मा बिक्री हुँदै आएको छ । सहकारीमार्फत यसको काम अगाडि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्