मकवानपुर थाहा नगरपालिका पशु विकास शाखाको आयोजनामा पशुवस्तुका लागि निःशुल्क स्वास्थ्य शिविर भएको छ । थाहा नगरपालिका वडा नम्बर ९ मा १९ चैतमा भएको शिविरमा १ सय १४ परिवार किसानले पालेको १ हजार ९ सय ७० पशुवस्तुको परीक्षण तथा औषधि वितरण गरिएको हो ।

शिविरमा ३७ वटा भैसी, गाई ३३, बाख्रा ९ सय ६०, बंगुर ८, कुकुर ४५, कुखुरा ८ सय ८७ वटाको निःशुल्क स्वास्थ्य परीक्षण र आवश्यक औषधि समेत वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक मनिषा मगरले जानकारी दिइन् । किसानहरुले पालेको पशुपंक्षी शिविरमा स्वास्थ्य परीक्षण र उपचारका लागि ल्याएका थिए । वडा नम्बर ९ को नारायणहिटीमा भएको शिविरमा ल्याएका पशुपंक्षीको प्राविधिकहरु राघवेन्द्र मिश्र, मनिषा मगर, विज्ञान भट्टराई, प्रकाश पाख्रिन र नुतन मिश्रले स्वास्थ्य परीक्षण गरेका थिए ।

यस किसिमको शिवर अन्य वडामा पनि आयोजना गरिने पशु विकास अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए । घर छेवैमा नगरपालिकाले पशुवस्तुहरुका लागि शिविर आयोजना भएकोमा स्थानीय किसानहरु खुशी भएका थिए ।