सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघको दोस्रो थाहानगर अधिवेशनले गणेशमान श्रेष्ठलाई थाहा नगर अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । २० चैतमा थाहा नगरपालिकाको विकास घरमा भएको महासंघको अधिवेशनको श्रेष्ठलाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनले उपाध्यक्षमा मन्जु केसी, सचिव भवानी प्रधान र कोषाध्यक्षमा सविता सुवेदीलाई पनि निर्विरोध निर्वाचित गरेको छ । स्थानीय उपभोक्ता महासंघ थाहानगरको ५४ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । नगर समितिको कामलाई थप प्रभावकारीता ल्याउन छिट्टै १३ जनाको सचिवालय गठन गरिने नवनिर्वाचित अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।

 अधिवेशनकी प्रमुख अतिथी तथा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक वनको अधिकारमाथि आघात पर्ने गरी सरकारले लगाएको तेहेरो कर खारेज गर्न आग्रह गरिन् । पाठकले सामुदायिक वनमाथि संघ सरकारले १०, स्थानीय सरकारले १० र प्रदेश सरकारले २५ प्रतिशत वन पैदावार शुल्क लगाएको र तीन तहकै सरकारले लगाएका कर हटाउन आग्रह गरिन् । संघीय वन ऐन तत्काल संशोधन गरी सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चित गर्न महासंघले सरकारसँग आग्रह गरेको उनको भनाइ थियो । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष तथा बागमती प्रदेशका सांसद समेत रहेकी पाठकले संघीय वन नियमावली र प्रदेश वन ऐन संशोधन गरी वन सरक्षणकर्मीको अधिकार सुनिश्चित गर्न माग गरिन् । उनले तीन तहको करले गर्दा आम्दानी नहुने सामुदायिक वन मारमा परेको भन्दै घरमा पालेको वस्तुलाई घाँस काट्न कर तिर्नुपर्ने बाध्यताको अन्त हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका विशिष्ट अतिथि तथा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले आगामी योजनामा वन तथा वातावरणमैत्री योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे । सामुदायिक वनको संरक्षण गर्नुपर्ने भन्दै थाहा नगरपालिका वन तथा वातारणको विषयमा सकारात्मक भएको बताउदै नगरपालिकाले स्थानीय वन ऐन समेत पास गरिसकेको अवस्थामा सामुदायिक वनको संरक्षणमा स्थानीय सरकार सकरात्मक रहेको बताए ।

स्थानीय उपभोक्ता महासंघका अध्यक्ष शिवराम थापाको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहमा वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, ५ नम्बर वडा अध्यक्ष बिष्णु बहादुर गुरुङ, थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष सादुराम चौलागाईं, महासंघ मकवानपुरका बच्चुराम ढुंगाना, बलराम अधिकारी, शम्भु प्रसाद न्यौपाने, टिस्टुङ वनस्पति उद्यानका अरुण चौधरी, पर्वतीय वनस्पति उद्यान दामनकी सुस्मिता चौधरीलगायत थाहा नगरपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।