मकवानपुरका स्थानीय तहहरुले साना र टुक्रे आयोजनामा बजेट विनियोजन नगर्न बागमती प्रदेश सरकारलाई सुझाव दिएका छन् । स्थानीय तहका प्रमुख÷उपप्रमुखसहितको २४ चैतमा बसेको समन्वय बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा साना र टुक्रे आयोजनामा बजेट खर्च नगर्न सुझाव दिएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको स्थानीय तह समन्वय बैठकमा स्थानीय तहहरुले प्रदेश सरकारले साना र टुक्रे आयोजनामा बजेट खर्च गर्न नहुने बताएका छन् । साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिनुपर्ने उहाँहरुको भनाई छ । टुक्रे र साना आयोजनामा स्थानीय तह आँफैले पनि खर्च गर्न सक्ने हुँदा प्रदेश सरकारले प्रत्येक स्थानीय तहको गौरबको आयोजना कार्यान्वयन हुने गरि बजेट बिनियोजन गर्नुपर्ने बताएका छन् । बैठकले प्रदेश सरकारलाई एक करोड घटिको आयोजना निर्माण नगर्न सुझाव दिने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले जानकारी दिए ।

त्यस्तै बैठकमा सहभागी प्रमुख/उपप्रमुखहरुले समयमै आयोजना कार्यान्वयन हुने र पालिकाको दायित्व बोध हुने गरि उपभोक्ता समितिको सम्झौताको प्रकृया पालिकास्तरबाट हुनुपर्ने, पालिका सदरमुकाम जोड्ने सडक निर्माणलाई प्राथमिक्ता दिनुपर्ने, एउटै आयोजनामा दोहोरो बजेट विनियोजन हुने समस्या समाधान गर्नुपर्ने कुरामा प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव दिने निर्णय गरेको प्रमुख घलानले बताए ।

त्यस्तै स्थानीय तहहरुले प्रदेश र संघ सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट प्राप्त बजेट सार्वजनीक खरिद प्रकृया मार्फत खर्च भई बाँकी हुन आउने रकम पुन खर्च गर्न पाउने गरि ऐन निर्माण गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख घलानले बताए । पुँजीगत खर्च बृद्धिका लागि पनि प्रदेश र संघीय सरकारले वित्तिय समानीकरण बजेट पुन खर्च गर्न पाउने गरि नीति निर्माण गर्नुपर्ने उनीहरुको भनाई थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी