सर्लाहीको गोडैता नगरपालिकामा सडकबत्ती जडानमा अनियमितता भएको छ । नगरपालिकाले एक लाख ५७ हजार सात सय ६० रुपैयाँ पर्ने सडकबत्ती १४ लाख ६२ हजारमा खरिद गरिएको हो ।

प्राप्त विवरणअनुसार नगरपालिकाले गत २८ पुसमा ६८ थान ‘एनबिटी लिड आल्मुनियम’ सडकबत्ती खरिद गरेको थियो । लिड लाइट विक्रेता कम्पनीको वेबसाइट ‘इन्डिमार्ट डटकम’मा उक्त बत्तीको मूल्य प्रतिथान भारु १४५० (दुई हजार तीन सय २० नेपाली रुपैयाँ) राखिएको छ । यस आधारमा ६८ थान बत्तीको बजार मूल्य एक लाख ५७ हजार सात सय ६० रुपैयाँ पर्न आउँछ । तर, गडैता नगरपालिकाले प्रतिथान २१ हजार पाँच सय रुपैयाँका दरले ६८ थान बत्ती १४ लाख ६२ हजारमा खरिद गरेको हो ।

बत्तीको मात्रै होइन, बत्ती जडानका लागि आवश्यक ‘लाइट आर्म्स’को खरिद मूल्य पनि अस्वाभाविक देखिएको छ । एउटा ‘लाइट आर्म्स’को बढीमा पाँच सय रुपैयाँ खरिद मूल्य रहेकोमा नगरपालिकाले दुई हजार तिरेको छ । ६८ थान लिड बत्तीका लागि आवश्यक ६८ थान ‘लाइट आर्म्स’ खरिदमा नगरपालिकाले एक लाख ३६ हजार रुपैयाँ भुक्तानी गरेको छ । तर, बजारभाउअनुसार यसको मूल्य ३४ हजार मात्रै हो ।

गडैता नगरपालिका– ७ स्थित सडकमा जडान गरिएको ‘एनबिटी लिड आल्मुनियम’ बत्ती । यो बत्तीको मूल्य विक्रेता कम्पनीको वेबसाइट ‘इन्डिमार्ट डटकम’मा प्रतिथान दुई हजार तीन सय २० रुपैयाँ राखिएको छ । तर, नगरपालिकाले प्रतिथान २१ हजार पाँच सयका दरले ६८ थान बत्ती खरिद गरेको हो ।

नगरपालिकाले तयार पारेको ‘वर्क कम्प्लेसन रिपोर्ट’मा उल्लेख भएअनुसार बत्ती जडान खर्च पनि अस्वाभाविक नै देखिन्छ । नगरपालिकाले प्रतिथान जडान खर्च एक हजारका दरले ६८ थान जडान गर्दा ६८ हजार रुपैयाँ भुक्तानी गरेको छ । जब कि बढीमा १० हजारमा सबै बत्ती जडान गर्न सकिने नगरपालिकाकै कर्मचारी बताउँछन् ।

६८ थान बत्ती खरिददेखि जडानसम्ममा कुल १९ लाख ५० हजार खर्च गरेको गडैता नगरपालिकाले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवको हस्ताक्षर छ । जब कि उक्त बत्ती बढीमा पाँच लाख रुपैयाँमा जडान गर्न सकिने नगरपालिकाको आन्तरिक स्रोतको दाबी छ । स्रोत भन्छ, ‘सडकबत्ती जडानमा भ्रष्टाचार भएको छ । २३ सय पर्ने लिड बत्तीलाई २१ हजार रुपैयाँ खर्च गरिएको छ । पाँच सय रुपैयाँमा पाइने फलामको स्ट्यान्डलाई दुई हजार रुपैयाँ तिरिएको छ । १० हजार रुपैयाँ ज्यालामा जडान गर्न सकिने बत्तीका लागि ६८ हजार खर्च गरिएको छ । नगरपालिकाको मेयरदेखि प्रमुख प्रशासकीय अधिकृतको मिलेमतो छ ।’

नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले भने सडकबत्ती खरिद र जडानबारे आफू जानकार रहे पनि कतिमा र कसरी खरिद गरिएको भन्नेमा अनभिज्ञ रहेको जवाफ दिए । ‘सडकबत्ती खरिद र जडानका विषयमा मलाई जानकारी छ । तर, कतिमा खरिद गरियो, कसरी ल्याइयो भन्ने मलाई कुनै जानकारी छैन,’ उनले भने, ‘खरिदसम्बन्धी सबै काम प्रमुख प्रशासकीय अधिकृत र लेखाले गर्ने भएकाले यसबारे उहाँहरूलाई नै जानकारी होला ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामेशप्रसाद यादवले भने सडकबत्ति खरिद जिल्लामा चलेको दररेटअनुसार नै गरेको दाबी गरेका छन् । उनले जडान ज्याला पनि महँगो रहेको जवाफ दिएका छन् । ‘सडकबत्ति खरिदको सम्वन्धमा अन्य ठाउँबाट पनि गुनासो आएका छन् । हामीले जिल्लामा चलेको दररेट अनुसार नै मुल्य राखेर खरिद गरेका हौं । यसमा शंका गर्नु पर्ने आवश्यकता छैन । ज्यालाको सन्वन्धमा पनि कुरा उठेका छन् । जडान गर्ने ज्याला महंगो नै हुन्छ,’ उनले भने ।

उपभोक्ता समितिमा पनि किर्ते 
गडैता नगरपालिका– ७ ले १० लाख लागतमा वडा कार्यालय निर्माण गर्दै छ । यसका लागि वडाले उपभोक्ता समिति गठन गरेको छ । तर, समितिमा बैठकमा सहभागी नै नभएकाको नाम राखिएको मात्रै छैन, उनीहरूको हस्ताक्षर पनि किर्ते गरिएको छ । प्राप्त विवरणअनुसार निर्णयपुस्तिकामा आनन्दकुमार झा, देवकृष्ण झा र ब्रजेशकुमार झाको किर्ते हस्ताक्षर गरिएको हो ।

वडाध्यक्ष दिनेशकुमार दासले उपभोक्ता समितिमा हस्ताक्षर नगर्ने आफ्ना विरोधी रहेको बताए । उनले भने, ‘उपभोक्ता समिति गठन गर्दा केही व्यक्तिको किर्ते हस्ताक्षर गरेको भन्ने आरोप गलत हो । केही मान्छे मेरा विरोधी छन् । उनीहरूले मसँग बजेट माग गरेका थिए, दिन सकिनँ । त्यसो हुँदा उनीहरू मेरो विरोधमा लागेका हुन् । समिति गठन गर्दा कसैले पनि किर्ते हस्ताक्षर गरेका छैनन् ।’

-नयाँ पत्रिका