चट्याङको उच्च जोखिम क्षेत्रको रुपमा रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीयको सुरक्षाका लागि चट्याङ निरोधक यन्त्र जडान गर्ने भएको छ । चट्याङका कारण बर्सेनि गाउँबासी घाइते तथा मृत्यु हुनुका साथै अन्य भौतिक क्षतिसमेत हुने गरेकोमा त्यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले अनुदानमा चट्याङ निरोधक यन्त्र जडान गर्न लागेको हो ।

यन्त्र जडान गर्न प्रति परिवार १२ हजार रुपैयाँ कबोल गरी एक कम्पनीलाई जिम्मा दिइएकोमा गाउँपालिकाले प्रति परिवार ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । बाँकी ७ हजार रुपैयाँ निवेदकले नै बेहोर्नुपर्नेछ । तोकिएकै रकमबाट लाभग्राहीहरुलाई १ लाख रुपैयाँ बराबरको प्राकृतिक प्रकोपजन्य दूर्घटना बिमासमेत गराइनेछ ।गाउँपालिकाले विपद व्यवस्थापनको लागि छुट्याएको ५० लाख रुपैयाँ बजेटमध्येबाट चट्याङ निरोधक यन्त्र जडानमा अनुदान दिन लागिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । यन्त्र जडानपश्चात १० वर्षसम्म मर्मत सम्भारको काम आपूर्तिकर्ता कम्पनीले नै गर्नेगरी सम्झौता गरिएको मल्लले बताए ।

गत चैत १२ गते सूचना जारी गरी चट्याङ निरोधक यन्त्र जडान अनुदान लिन इच्छुक लाभग्राहीलाई आह्वान गरिएकोमा एक सय ८२ परिवारले यन्त्र जडानको लागि निवेदन दिएको गाउँपालिकाका फिल्ड सहायक सिङ्गराम मुक्तानले बताए । गाउँ विपद व्यवस्थापन समितिको बैठकबाट लाभग्राही छनौट गरी कार्यान्वयनमा जाने तयारी छ ।गाउँपालिकामा चट्याङबाट बर्सेनि जनधनको क्षति हुने गरेको छ । गत वर्ष मात्रै गाउँपालिकामा चट्याङबाट ३ जनाको मृत्यु भएको थियो । चट्याङ निरोधक यन्त्र जडानको कामलाई आगामी वर्षदेखि निरन्तर लैजाने गाउँपालिकाले जनाएको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार राक्सिराङ गाउँपालिकाको जनसंख्या २५ हजार नौ सय ९६ रहेको छ ।

पालिका प्रेस
थप जानकारी