गरिबी निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत अल्लो धागोको ४५ दिने कपडा बुनाई तथा सिलाई तालिम २१ वैशाखमा समापन भएको छ । थाहा नगरपालिकाको आर्थिक सहयोगमा थाहानगर लघु उद्यम विकास शाखाले संचालन भएको ४५ दिने तालिम थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँमा समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले नगरपालिकाका महिलाहरु उद्यमी बनेर आयआर्जनमा लागे मात्र अन्य क्षेत्रमा समेत अघि बढ्न सक्ने बताए । उनले उद्यमी बन्न चाहने महिलाहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । सीप सिकेको प्रमाणपत्र एउटा हतियार भएको हुनाले यसको प्रयोग गर्न सधैँ तयार हुनुपर्ने उनको भनाइ थियो । अल्लोको कपडा लगाएमा संस्कृतिको जगेर्ना हुने पनि उपप्रमुख गोपालीको भनाइ थियो । महिला हिंसा हटाउन यस्ता सीप सहयोगी हुने उनले प्रतिक्रिया दिए ।

  कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अल्लो कपडा बुन्ने तालिम लिएका महिलाहरुले अब आत्मनिर्भर बनेर अघि बढ्नुपर्ने बताए । त्यसका लागि यथासक्य सहयोग गर्न आफु तयार रहेको उल्लेख गरे । थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, थाहा नगरपालिका गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)का अधिकृत कुमार नेगी, प्रशिक्षक हरी गोपाल च्यासी, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले सीप सिकेर आत्मनिर्भर हुन शुभकामना दिएका थिए ।

१० जना सहभागी रहेको ४५ दिने तालिमबाट आफुहरुले कपडा बुनाई तर्फको चर्खा घुमाउन, टुक्कीमा धागो भर्न, तान लगाउने, कोका–काँगी भर्ने, पाउदानी चलाउने, सटर चलाउन सिक्नुको साथै टोपी र स्टाकोटको कपडा काट्ने सीप सिक्न पाएको सहभागीहरुले बताए । कपडा बुनाई तथा कपडा सिलाई सम्बन्धिको पूर्ण सीप सिकेर व्यवसाय संचालन गर्नका लागि क्षमता विकास तालिमको आबश्यक पर्ने समुहका अध्यक्ष रेश्मा गोपालीको भनाई रहेको छ । तालिम समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसा–पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मेड्पाका लघु उद्युम सहजकर्ता दिक्षा पाण्डे, उद्यम विकास सहजकर्ता सुनिता बुढाको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी