मकवानपुरको हेटौँडा बजारमा हेटौँडा कृषि बजारको सुरुवात हुँदै छ । त्रिवेणी भेजिटेबल मल्टी प्रालिद्धारा सञ्चालित हेटौँडा कृषि बजारको अहिले धमाधम संरचना बनिरहेको छ । हेटौँडा बजारको मेनरोड, हेटौँडा–४ स्थित नारायणी मलको उत्तरी साइडको ७ कठ्ठा जमिन भाँडामा लिएर कृषि बजार सञ्चालनमा ल्याउन लागेको सञ्चालक सदस्य प्रिन्स बलले जानकारी दिए ।

६ जना युवा साथीहरुको ३ करोड लगानीमा हेटौँडा कृषि बजार सञ्चालनमा ल्याउन लागेको उनले बताए । हेटौँडाको बजार क्षेत्रमा अव्यवस्थित तरकारी बजारको सही व्यवस्थापन गराउन र नगरपालिकाले हरित नगरी, सफा नगरी बनाउने योजनामा अघि बढीरहेको अवस्थामा हातेमालो गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हेटौँडा कृषि बजारको अवधारणा बनेको अर्का सञ्चालक सदस्य राजीव गोलेले बताए । बिदेश जान लागेको हामी युवाहरु मिलेर यही स्वदेशमा केही गर्न सकिन्छ भनेर यो योजना बनाइएको हो, गोलेले भने । यसअघि, ६ जनाको टिमले चितवनको तरकारी बजार र काठमण्डौँको बल्खु तरकारी बजारको बारेमा अध्ययन गरेका थिए ।

१ सय ७५ वटा स्टलहरु बन्ने र १० फिटको बाटो तथा आकर्षक पार्किङको व्यवस्था पनि गरिएको उनले बताए । स्टल बुकिङका लागि व्यापारीलाई आव्हान गर्दै सञ्चालक बलले एउटा स्टलको ६ देखि ८ हजारसम्म सहलियत दरमा भाँडा तोकिएको बताए । बैशाख ५ गतेबाट संरचना बनाउन सुरु गरेको र जेठ मसान्तसम्म संरचना बनाइसक्ने सञ्चालकहरुको योजना छ । असारको पहिलो हप्ता उद्घाटन गरेर हेटौँडा कृषि बजार सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

पालिका प्रेस
थप जानकारी