मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा तयारी अघि बढाएको छ । नीति तथा कार्यक्रम र बजेट तयार गर्नुअघि जिल्लास्थित राजनीतिक दलहरुसँग सुझाव संकलनका लागि छलफल गरिएको छ ।

उपमहानगर नेतृत्वले दलहरुसँग नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने महत्वपूर्ण विषय, प्राथमिकताका कार्यक्रम र आवश्यकतालाई मध्यनजर गर्दै सुझाव मागेको छ । सम्भवतः उपमहानगरले बजेट निर्माणको पूर्वसन्ध्यामा पहिलो पटक दलहरुसँग सुझाव मागेको हो । यसअघिका जनप्रतिनिधिले आफ्नो ढंगबाट बजेट बनाउँदै आइरहेको अवस्थामा विकासको सवालदेखि बजेटमा सुझाव माग्ने काम भएका पाइएको छ । १ जेठमा भएको छलफलमा हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले नगर बनाउने कुरामा हातेमालो गर्न आग्रह गरेकी छन् । विकासका काममा सबै लागिरहेको छ भन्ने सन्देश दिनका लागि पनि आवश्यक समन्वय र सहकार्य खोजेको लामाले बताइन् । बजेट निर्माणमा तीनै तहको सरकारदेखि जिल्लाका पालिकाबीच पनि सहकार्य र अपनत्व रहनुपर्नेमा जोड दिइन् । १० असारभित्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको लामाले जानकारी दिएकी छन् । हेटौंडाको मुहार परिवर्तन भएको देखिएन भन्ने गुनासो जनस्तरबाटै आएकाले आवश्यकता र प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्ने उनले बताइन् ।

हेटौंडाको मुख्य सडक दायाँबायाँ २५/२५ मिटर सडक बिस्तारमा पनि दलहरुबीच एकरुपता आवश्यक रहेको लामाले उल्लेख गरेकी छन् । उनले नगरको सुन्दरताका लागि पनि न्यायोचित ढंगबाट सडक बिस्तार गर्नुपर्ने आवश्यक रहेको र त्यसका लागि साथ र समर्थन गर्न दलहरुसँग आग्रह गरिन् । लामाले प्रदेश राजधानी स्थायित्वको लागि प्रादेशिक संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा २०० विगाह प्रदेश सरकारलाई उपलब्ध गराउन सहकार्य गरेको जानकारी गराएकी छन् । छलफलमा सहभागी दलहरुले पनि नगरको मुहार फेरिने गरी बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेश सांसद् एकालाल श्रेष्ठले आर्थिक परिस्थिति संकटपूर्ण रहेको भन्दै उपमहानगरमा राजश्व श्रोतको दायरा बढाउने गरी खोजी गर्न सुझाव दिए । कालोपत्रे सडक निर्माणमा जोड दिन उनले आग्रह गरे । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गौरबको योजना बनाउन जोड दिए ।

पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्दै लामाले आन्तरिक राजस्व वृद्धि, सार्वजनिक जमिन उपभोगमा कर लगाउनु पर्ने, मासु ऐन र सार्वजनिक शौचालय निर्माणमा ध्यान दिन जरुरी रहेको लामाले बताए । नेकपा एमालेका नेता तथा निवर्तमान जनप्रतिनिधि राजन थापाले स्ल्याव ढलानमात्र नभई पर्यापर्यटन विकासमा जोड दिनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका अध्यक्ष भरत पराजुलीले शिक्षा, स्वास्थ्य र कृषिको पाटोमा ध्यान दिन आग्रह गरे । रोजगारी सृजना गर्ने कार्यमा पनि सोच्नुपर्ने उनको भनाइ छ । हेटौंडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने पराजुलीले बताए । नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले गौरबको योजना बनाएर अघि बढ्न सुझाए । शिक्षाको मूल्याड्ढन गर्दै शिक्षामा अपनत्व हुने गरी योजना बनाउनुपर्ने बताए । विद्यालय मर्ज गरेर व्यस्थित बनाउन आवश्क रहेको दाहालले बताए । दलहरुले सार्वजनिक शोैचालय बालमैत्री, शारीरिक अशक्तमैत्री हुनुपर्ने, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने, २५ मिटर सडक विस्तार गर्नुपर्ने, अस्पतालको व्यस्थापनमा ध्यान दिनुपर्नेलगायत सुझाव दिएका छन् । नगरको विकासमा ल्याइने नीति तथा कार्यक्रम र बजेटमा प्राप्त सुझाव समेटेर लगिने उपमहानगरका उपमेयर राजेश बानियाँले बताए ।

पालिका प्रेस
थप जानकारी