राष्ट्रिय भूमि आयोग र मकवानपुरको बागमती गाउँपालिकाबीच भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने सम्बन्धमा कार्य सहमती भएको छ । शनिबार काठमाण्डौंमा आयोगका अध्यक्ष केशब निरौला र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानबीच भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने सहमती भएको हो ।

कार्य सहमती पत्रमा आयोग र स्थानिय तहको छुट्टाछुट्टै जिम्मेवारी तथा दुबै पक्षले गर्नुपर्ने भूमिकाका बिषयमा उल्लेख गरिएको छ । सहमती पत्रमा स्थानिय तहले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेकाहरुको पहिचान, लगत संकलन, उनीहरुका घर, परिवार संख्या तथा उनीहरुले भोगचलन गरेकोे तहगत क्षेत्रका विवरण आयोगमा पेश गर्ने लगायतका विविध बिषय समावेश गरिएको छ ।

आयोगका तर्फबाट भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आधार र मापदण्ड, आवश्यक कार्यविधिहरु उपलब्ध गराउने, ऐन, नियमावली गठन आदेश र कार्यविधिमा तोकिए बमोजिम अन्य आवश्यक व्यवस्थापकीय कार्य गर्ने लगायतका विषय उल्लेख छ ।

गाउँपालिका अध्यक्ष घलानले २०७६ सालमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगकै कार्यलाई निरन्तरता स्वरुप यस आयोगसंग सहमती भएको बताए । उनले सोही आयोगकै कार्यविधिलाई अपनाएर पालिकाभित्र जग्गा नापी गर्ने कार्य चलिरहेको समेत बताए ।

बागमती गाउँपालिकाभित्र ७ हजार १ सय भूमिहिन (ऐलनी) रहेका छन् । ८० जना भूमिहिन सुकुम्बासी र ४५ जना भूमिहिन दलित बसोबास गर्छन् । अहिले वडा नम्बर ३ र ६ मा नापीको कार्य चलिरहेको छ भने वडा नम्बर ४ र ५ को नापी गरिसकिएको छ । गतबर्षदेखि डिजिटल प्रबिधिबाट जग्गा नापी चलिरहेको छ । जग्गा नापी गर्न ४ वटा टोली परिचालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

हेर्नुहोस् राष्ट्रिय भूमि आयोग र बागमती गाउँपालिकाबीच भएको सहमती पत्र :

पालिका प्रेस
थप जानकारी