थाहा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो। किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले गाईको दुधमा र भैंसी पकेट क्षेत्रमा २ रुपैयाँ ५० पैसाको दरले अनुदान उपलब्ध गराएको थाहा नगरपालिका पशु विकास शाखाका प्रमुख राघवेन्द्र मिश्रले बताए।

चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई अनुदान वितरण गरेको पशु विकास शाखाले जनाएको छ । यस वर्ष थाहा नगरपालिका वडा नम्बर १२ को सुन्तलाबारी कृषि सहकारीमार्फत् २८ किसानको संकलित भैंसीको सत्ताइस हजार उनान्साठ्ठी लिटर दूधका लागि दुई रुपैयाँ पचास पैसाको दरले ६६ हजार ६ सय तेत्तीस रुपैयाँ, थाहा ६ बज्रवाराहिमा अवस्थित नन्दिकेशरी डेरी मार्फत ८५ जना किसानको १ लाख ३ हजार ४ सय ५८ लिटर दुधका लागि १ लाख ७८ हजार ३ सय ३६ रुपैयाँ त्यसैगरी देव दर्शन निष्ठा डेरी थाहानगरको शिखरकोटको १ सय ५३ जना किसानको २ लाख २६ हजार ४ सय ९२ लिटर दुधको लागि ३ लाख ९० हजार ४ सय १७ रुपैयाँ र थाहा नगरपालिका वडा नम्बर ३ घर्तिखोलामा रहेको नवदुर्गा ट्रेडसको ३३ जना किसानको ९१ हजार ६३ लिटर दुधको लागि १ लाख ५६ हजार ९ सय ७९ रुपैयाँ अनुदान उपलब्ध गराएको थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले बताए।

पशु प्राविधिक मिश्रका अनुसार डेरी विकास, दुग्ध उत्पादनमा थाहाका तीन उत्कृष्ट किसानहरुलाई प्रोत्साहन सहित सम्मानित गरिएको छ । सम्मानित हुने किसानहरुमा थाहा २ का माधव कार्की, थाहा १२ का भिम बहादुर गोले र थाहा ६ का पार्वती ढुंगाना रहेका छन । सो अवसरमा थाहा १ को लामिछाने गाई तथा कृषि फार्म, थाहा २ को डाँडाघरे बा को कृषि तथा पशुपंछी फार्म, थाहा ३ को मंजिल कृषि तथा पशुपंछी फार्म र थाहा ६ को पिपि कृषि तथा पशुपालन फार्म पनि सम्मानित भएका छन् । किसान मार्फत दूध संकलन गर्ने चार वटा डेरीलाइ पनि प्रोत्साहन बापत सम्मान गरिएको पशु शाखाले जनाएको छ ।

थाहा नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ । नगरप्रमुख विष्णु बिष्टले अनुदानबाट किसानलाई उत्पादनमा जोड दिन मद्दत पुग्ने बताए । किसानलाई उत्पादन लागत घटाउन, थप अनुदान, आवश्यक सहयोगसहित बजारीकरण सहज बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ । ‘दूधको लागि दुहुनो गाई भैंसी पकेट क्षेत्र समेत बिस्तार गर्ने नगरको नीति तथा कार्यक्रममा समेत समेटेका छौँ’, नगरप्रमुख विष्टले भने। चालु आर्थिक वर्षमा उत्पादनका आधारमा दूधमा उपलब्ध गराएको अनुदानबाट २ सय ९९ सय किसान लाभान्वित भएका छन्।

पालिका प्रेस
थप जानकारी