मकवानपुरको थाहा नगरपालिकामा संयुक्त कर शिविर शुरु भएको छ । थाहानगर उद्योग वाणिज्य संघको कार्यालय चेम्बर चोकमा २१ साउनबाट उद्योग वाणिज्य संघ, थाहा नगरपालिका, आन्तरिक राजश्व कार्यालय हेटौंडा, नापतौल विभागलगायतको संयुक्त सहकार्यमा शिविर शुरु भएको हो ।

उद्योग वाणिज्य संघले आफ्ना सदस्य तथा उत्तरी मकवानपुरका व्यवसायीहरु लक्षित गरी हरेक वर्ष संयुक्त कर शिविरको आयोजना गर्दै आएको छ । शिविरमा आन्तरिक राजश्व कार्यालय अन्तर्गतको कर भुक्तानी, मदिरा तथा चुरोट सुर्ति विक्रीका लागि अन्तशुल्क, नयाँ व्यवसायिक पान नम्बर, अनुमानित आय तथा सामाजिक सुरक्षा कर भुक्तानीको व्यवस्था शिविरमा भैरहेको छ । यसैगरी, आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएका सबैले अनिवार्य बायोमेट्रिक गर्नुपर्ने कार्य पनि शिविरबाटै हुने भएको छ ।

शिविरमा नेपाल गुणस्तर तथा नाप तौल विभागको तौल परीक्षण तथा एकिन कार्यको सेवामा ढक तथा तराजु, डिजिटल काँटा लगायतका नापतौल उपकरणहरु व्यवसायीहरुले प्रमाणिकरणको सेवालगायत व्यवसायीलाई आवश्यक सबै सेवाहरु शिविरमा उपलब्ध गराइएको थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । ५ लाख रुपियाँभन्दा बढीको पुजी रहने नयाँ व्यवसायिक फर्म दर्ता, थाहा नगरपालिकामा ५ लाखसम्मको नयाँ फर्म दर्ता र नवीकरणका लागि सेवा उपलब्ध छ । थाहानगर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई नवीकरणमा जरिवाना छुट समेतको व्यवस्था गरी नयाँ सदस्यता वितरणका लागि समेत सेवा शिविरमा दिएको छ । शिविर २४ साउनसम्म संचालन हुनेछ ।

पालिका प्रेस
थप जानकारी