

मकवानपुरगढीका कृषकहरुले बाँदरको आतंकबाट हैरानी भएपछि पुनः अदुवा खेतीमै फर्किएका छन् । करिब ६–७ वर्षअघिदेखि खेती लगाउन छोडेको अदुवा कृषकहरुले पुनः लगाउन सुरु गरेको मकवानपुर गढी गाउँपालिकाको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए । गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको ५ नम्बर वडास्थित बुङ्दल स्कुलडाँडामा लगाइएको अदुवा खेतीको अवलोकन पनि गरेको छ ।
कृषकहरुले बाँदरको हैरानीबाट मुक्त हुन पनि अदुवा खेती लगाउन थालेको जानकारी गराएको कृषि प्राविधिक चौधरीले बताए । मकवानपुरगढी–५ बुङ्दल स्कुलडाँडाका ५८ वर्षीय कृषक बीरमान मोक्तानले करिब ७ वर्षपछि अदुवा खेती पुनः सुरु गरेका छन् । करिब ८–१० वर्ष अगाडि साविक आमभञ्ज्याङ (हालको ५ र ६ नम्बर वडा) र मकावानपुरगढी गाविस (हालको १ देखि ४ नम्बर वडासम्म) अदुवा खेतीको पकेट क्षेत्रको रुपमा परिचित थियो । अदुवाबालीमा गानो कुहिने रोगका कारण किसानहरु अदुवा लगाउन छोडेर क्रमशः मकै, सिमीलगायत अन्य बालीहरु लगाउन थालेका थिए । हाल फेरि मकैलगायतका खेती छोडेर कृषकहरु अदुवा खेती गन थालेको कृषि प्राविधिक चौधरी बताउँछन् ।
नगदेबालीको रुपमा रहेको अदुवा खेतीबाट आम्दानी पनि राम्रो हुने गरेको स्थानीय कृषक मोक्तानले बताए । अदुवामा कुनै रोग नदेखिए किसानहरु धेरै नाफामा हुने उनको भनाई छ । ‘अहिले मकै सिमि लगाउँदा बाँदरले सखाप बनाउन थाल्यो बाँदरबाट बाली बचाउनको लागि ७–८ वर्षको अन्तरालमा यसवर्ष एक विघामा अदुवा लगाएको हुँ ।’, मोक्तानले भने । मोक्तानले विगतमा ८० क्विन्टलसम्म अदुवा बिक्री गरेको सम्झिए । अगामी वर्ष थप क्षेत्रफल विस्तार गरेर अदुवा खेती गर्ने मोक्तानको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्