

मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित बागवानी नर्सरी केन्द्रमा यतिखेर स्याउलगायतका फलेका फलफूलले बजार लिएको छ । फलफूलका बिरुवाहरू उत्पादन गरी बिक्री वितरण गर्ने उद्देश्यले स्थापना भएको बागवानी नर्सरी केन्द्रमा फलफूलका बिरुवा मात्र होइन मौसमअनुसारका फलफूल उत्पादन हुँदै आएको छ ।
केन्द्रमा गोल्डेन, डेलिसियस, रेड डेलिसियस, फुजीलगायतका जातका स्याउसँगै आरुबखाडा, नास्पाती, आरु, किबीफल लगायतका फलमा विभिन्न जातका फलफूलका बोट छन्। केन्द्रबाट हाल स्याउ, आरुबखडा, नास्पाती र आरु उत्पादन गरी बजारमा बिक्री भइरहेको छ। केन्द्रका प्राविधिक समीर मगरका अनुसार किवीफल, हलुवावेद, ओखर र कटुस भने दशैँताका निस्कनेछ । उनले केन्द्रका उत्पादित फलफूल नर्सरीमा भ्रमणमा आउने र स्थानीयलाई बिक्री गर्दै आएको बताउँदै व्यावसायिक प्रयोजनका लागि भन्दा पनि कटिङ गरी बिरुवा बनाएर बिक्री गर्न संरक्षण गरिएका बोटबाट उत्पादन हुने फलफूल बिक्री गर्ने गरिएको बताए ।यो वर्ष स्याउ छ सय केजी, आरुबखडा दुई हजार पाँच सय केजी, नास्पाती दुई सय केजी उत्पादन हुने अनुमान छ ।
यस्तै पछि निस्कने किवीफल चार सय केजी, हलुवावेद दुई सय केजी, ओखर पाँच सय केजी र कटुस सय केजी उत्पादन हुने अनुमान गरिएको छ। केन्द्रमा उत्पादन भएको आरुबखडा मकवानपुरकै चित्लाङस्थित गट चिज होमस्टेमा वाइन बनाउन लगिएको छ। केन्द्रका प्राविधिक मगरले स्याउ सुरुमा प्रति केजी सय रुपियाँमा बिक्री गरिएकोमा पछिल्लो समयमा प्रति केजी १५० रुपियाँमा बिक्री हुँदै आएको छ । आरुबखडा प्रति केजी २०, नास्पाती प्रतिकेजी ३० र आरु प्रतिकेजी ३० रुपियाँमा केन्द्रले बिक्री गरेको प्राविधिक मगरले जानकारी दिए । केन्द्रबाट खरिद गरिएको स्याउ स्थानीय बजारमा प्रति केजी दुई सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री हुने गरेको जनाइएको छ ।
दामन क्षेत्रमा बढी पानी पर्ने र हुस्सु बढी लाग्ने भएकोले अन्यत्रको भन्दा फलफूल कम स्वादिष्ट हुने बताउँदै उनले गत वर्षभन्दा यो वर्ष फलफूल बढी उत्पादन भएको सुनाए । गत आर्थिक वर्षमा केन्द्रले विभिन्न जातका गरी २६ हजार फलफूलका बिरुवा उत्पादन गर्ने लक्ष्य राखेकोमा २० हजार वटा उत्पादन भएर १० हजार मात्र बिक्री गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा फलफूल र फलफूलका बिरुवा बिक्रीबाट १२ लाख रुपियाँ आम्दानी गरेको थियो।
प्रतिक्रिया दिनुहोस्