मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा भएको छ । सहकारीको ३० भाद्रमा संस्थाको मुख्य कार्यालय प्रयागपोखरी लगनखेलमा सभा भएको हो । मकवानपुरको थाहा नगरपालिका समेत कार्यक्षेत्र रहेको मंगलदीपको सभामा संस्थाका अध्यक्ष नवराज विष्टले पेश गरेको वार्षिक प्रगती प्रतिवेदन, लेखा समितिका संयोजक सागर जंग थापा तथा कोषाध्क्ष सुरेन्द्र श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।

तीन हजार ५ सय ३५ शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी २ करोड १३ लाख ५८ हजार ४ सय रुपैयाँ रहेको अध्यक्ष विष्टले सभामा जानकारी गराएका थिए । सो अवसरमा बचत संकलन १४ करोड ६५ लाख ५३ हजार १ सय ८ रुपियाँ पैसा ६९, ऋण लगानी १५ करोड ७० लाख ७६ हजार ६ सय ८१ रुपियाँ पैसा १३, रहेको अध्यक्ष विष्टले उल्लेख गरे । त्यस्तै विभिन्न कोषहरुमा ३६ लाख ८३ हजार १ रुपियाँ पैसा ४८ रहेको बताइएको थियो । सहकारीले गत आर्थिक वर्षसम्ममा २० करोड ८६ लाख ३८ हजार ३३ रुपियाँ पैसा ११ कारोबार गरेको अध्यक्ष विष्टको प्रतिवेदनमा उल्लेख छ ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीको विशेष आतिथ्यता रहेको थियो । सभामा ध्र्रुवतारा बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष उमेश पाण्डे, राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख रमा घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्ययवस्थापक सन्तोष बजगाईं, मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सल्हाकार राम कृष्ण हुमागाई र कानूनी सल्लाहकार तथा अधिवक्ता राम बिष्ट तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पत्रकारहरु उपस्थित रहेको थियो ।

सभाका प्रमुख अतिथि घिमिरेले कतिपय सहकारीले सदस्यको बचत रकम फिर्ता दिन समस्या परेको अवस्थामा यस सहकारीमा तरलता रकम राम्रो भएका कारण सदस्यहरुसंँगको सम्बन्ध प्रभावकारी भएको बताए । प्रमुख अतिथी घिमिरेले नियमित र समयमै साधारणसभा गर्न सक्नु आन्तरिक सुशासन मजबुत हुनुको सूचक भएको बताउँदै सम्पूर्ण सञ्चालक युवा भएको हुदाँ काम गर्ने क्षमता भएकै कारण संस्थामा जोखिम नरहेको बताए ।

साधारण सभाको अवसरमा आर्थिक वर्ष २०७९/२०८० जेष्ठ नागरिक सम्मान राम महार्जन, उत्कृष्ट कारोबार गर्ने सदस्यहरु बाबु कृष्ण श्रेष्ठ, कुमार कार्की, गौरव श्रेष्ठ, उमेश नारायण खड्का, रबिन बजगाई, सरिता श्रेष्ठ र असल ऋणी रामहरि तामाङ, नारी बचतमा बिना नेमकुल, बाल बचतमा अपेक्षा दाहाल घोषित भएका छन् । वि.सं. २०७९ को एसइईमा उत्कृष्ट जीपिए प्राप्त गर्ने मन्जिल बस्नेत र सदिक्षा सिलवाललाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीमा पालुङ सेवा केन्द्रका प्रमुख गणेश विष्टलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष नवराज विष्टको सभाध्यक्षतामा भएको सभाको कायृक्रम सञ्चालन संस्थाका सचिव प्रल्हाद महतले गरेका थिए । मंगलदीपले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैब र थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटबाट समेत वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिरहेको छ ।

वि.सं. २०७१ सालमा स्थापना भएको मंगलदीपको कार्यक्षेत्र ललितपुर र मकवानपुर जिल्ला रहेको छ । सहकारीमा ३१ प्रतिशत तरलता कायम गरी समुदायमा आधारित भएर सेवा प्रवाह गरिरहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले १८ ओटा आन्तरिक नीति तथा कार्यविधी तयार गरी कार्यान्वयनमा ल्याएको छ । संस्थाले आफ्नो कारोबारमा पूर्ण अनलाईन सेवा प्रदान गर्दै आएको छ भने मोबाइल एप सञ्चालन, कारोबारको निःशुल्क एसएमएस सेवा, ‘क्युआर कोड’ लगायतका डिजिटल प्लेटफर्मबाट सेवा प्रदान गरिरहेको छ ।