सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रुपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको हो । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रयी दुग्ध सहकारी संघले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिको माग गरेपछि अध्ययनका लागि समिति गठन गरेको थियो ।

समितिको सुझावसहितको प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषद्मा मूल्य बढाउने प्रस्ताव लगेको थियो ।  विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको छैन । दूध व्यवसायले मुलुकको कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत योगदान पु¥याउँदै आएको छ । नेपालमा वार्षिक २३ लाख १ हजार टन दूध उत्पादन पुगेको तथ्यांक छ ।

उत्पादनको ४० प्रतिशत गाई र ६० प्रतिशत भैंसीको छ । राष्ट्रिय दुग्ध विकास नीति, २०७८ मा सरकारी, सहकारी तथा निजी क्षेत्रको सहकार्य र साझेदारीमा दूधको उत्पादन र उत्पादकत्व वृद्धि गरी देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन हुने वातावरण निर्माण गर्ने उल्लेख छ ।

दुग्ध व्यवसायले मुलुकका करिब ५ लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ । प्रतिवेदनमा उल्लिखित तथ्यांकअनुसार हाल वार्षिक औसत २ अर्ब रुपैयाँ बराबरको विभिन्न दुग्ध पदार्थ आयात हुँदै आएको छ ।

पालिका प्रेस
थप जानकारी