राष्ट्रिय जनगणनाले पालिकाको जनसंख्या घट्ने गरी जनगणनाको विवरण सार्वजनिक गरेपछि रामेछापको खाँडादेवी गाउँपालिकाले आफैं जनगणना गर्न थालेको छ ।गाउँपालिकाले ३ वर्षअघि गरेको गणनाभन्दा कम मात्र हैन, कायम रहेका बालिग मतदाताभन्दा पनि थोरै जनसंख्या रहेको विवरण सार्वजनिक भएपछि खाँडादेवीले सहजकर्ता मार्फत् जनगणना थालेको हो । ‘हाम्रो पालिकामा जनगणना प्रभावकारी भएन’ गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले भने ‘त्यसैले फेरि हरेक घर परिवारमा पुगेर जनसंख्या लिन सहजकर्ता परिचालन गरिसकेका छौं ।’ तामाङका अनुसार राष्ट्रिय जनगणना २०७८ ले पालिकाको जनसंख्या १९ हजार ३ सय ८१ रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । ‘हाम्रो जनसंख्या यति मात्र हैन, करिब ९ हजार जनसंख्या छुटेको छ ’ तामाङले भने ।

खाँडादेवी गाउँपालिकामा मतदाताको संख्या २२ हजार १ सय ६० रहेको छ । मतदाता नामावलीमा नाम नभएका करिब ६ हजार बालबालिकाहरू विद्यालयमा अध्ययन गर्ने गर्छन् । यस हिसाबमा ९ हजार जनसंख्या छुटेको दाबी तामाङको छ । ‘अब हामीले अहिले संकलन गरेको विवरण तथ्यपरक आउँछ’ तामाङ भन्छन् ‘स्टिकर बनाएर पठाएका छौं हरेक घरमा स्टिकर टाँस गरेरै जनसंख्याको विवरण लिने काम भइरहेको छ ।’ राष्ट्रिय जनगणना २०७८ का क्रममा पालिकासँग समन्वय नभएको, कुनै बैठक या जानकारीसमेत नदिएर काम गरेको भन्दै तथ्यांक विभागको भूमिकाप्रति यहाँका जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।

सरकारले स्थानीय तहलाई दिने अनुदानमा ७० प्रतिशत भार जनसंख्याको आधारलाई मान्ने गरेकोले पालिकाको जनसंख्या घटाउँदा पालिकाको विकास निर्माण कार्यको बजेटमा प्रभाव पर्ने गर्छ । अनुदान घट्ने मात्र नभएर नगरपालिकामा स्तरोन्नति हुने पालिकाहरूलाई जनसंख्या घट्दा घाटा भएको उनले बताए । २०७८ को जनगणना अनुसार जिल्लाका सबै पालिकामा साविकको जनसंख्या घटेको छ ।

साथै रामेछाप नेपालकै सबैभन्दा बढी ऋणात्मक जनसंख्या भएको जिल्लाको रुपमा चिनिएको छ । राष्ट्रिय जनगणना अनुसार रामेछापमा –१.६५ प्रतिशत जनसंख्या ह्रास भएको देखिन्छ । अघिल्लो जनगणनाले २ लाख २ हजार ६ सय ४६ देखाएकोमा २०७८ सालको जनगणनाले १ लाख ७० हजार ६ सय २० जना जनसंख्या रहेको तथ्याङ्क सार्वजनिक भएको हो । जुन अघिल्लो जनगणनाभन्दा २६ हजार ३२ कम हो ।

पालिका प्रेस
थप जानकारी