धमिले फाँटका उज्यालो देखिएको छ । कृषक गोकर्ण पराजुलीले लगाएको ४ कठ्ठा क्षेत्रफलमा सूर्यमुखी फुल फुल्न थालेपछि फाँटै उज्यालो भएको छ । मकवानपुरगढी गाउँपालिका–३ मा पर्ने फाँटमा कृषक पराजुलीले लगाएको सुर्यमुखी फसलका लागि भट्टाभट फुलिरहेको छ ।

पराजुलीलेप्रति कठ्ठा एकसय किलोको दरले सूर्यमुखी उत्पादन हुने अनुमान गरेका छन् । यस वर्ष करिब १ लाख ५० हजार रुपैयाँबराबरको सूर्यमुखी बिक्री गर्ने पराजुलीको लक्ष्य छ । फाँटमा फुलेको सुर्यमुखी देखाउँदै उनले भने–‘‘विदेशबाट धेरै अर्डर आएको छ, समयमै बिक्री हुने आशा छ ।’ मकवानपुरगढी गाउँपालिकाका कृषि विकास अधिकृत चन्द्रकान्त चौधरीका अनुसार धमिले फाँटमा अरु कृषकले सूर्यमुखी खेती गरेका छैनन् ।

“यस वर्षको उत्पादन र बजार मूल्य राम्रो पाइएमा अगामी वर्षदेखि सूर्यमुखी खेतीको क्षेत्र विस्तार हुने सम्भावना देखिन्छ,” कृषि विकास अधिकृत चौधरीले भने । केही वर्षअघिसम्म मकवानपुरमा सूर्यमुखी खेती भए पनि बजारीकरणको समस्याले गर्दा यो खेती घटेको थियो। तर पछिल्लो समय बजार सहज हुँदै गएकाले फेरि कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। सूर्यमुखी विशेष गरी तेलका लागि लगाइने बाली हो ।