मकवानपुरमा आफ्नै आमालाई घाँटी थिची मार्ने छोरा १९ दिनपछी पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेलका २६ वर्षिय मिलन गमाल छन्। गमालले आफ्नै आमा ४७ वर्षिय ज्ञानिमाया गमालको गत फागुन ३० गते घरमा सुतिरहेको बेलामा घाँटी थिची हत्या गरेर भागेका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार काठमाडौ बस्दै आएका मिलन गत फागुन २९ गते रोजागारीका लागि भारत जान्छु भनी हिँडी आफ्नै घरमा आएर मदिरा सेवन गरि आमाको घाँटी थिची हत्या गरेका थिए। हत्या पछि उनि आमाको मोबाईल समेत बोकि झ्यालबाट निस्केर चित्लाङ्गको बाटो हुँदै काठमाडौ तर्फ भागेका भण्डारीले बताए।

ढोकामा भित्रबाट चुकुल लगाई मृत अवस्थामा भेटिएकी ज्ञानिमायाको शव परिक्षणका लागि फोरेन्सिक मेडिसिन बिभाग त्रिभुवन शिक्षण अस्पताल महाराजगँञ्ज काठमाण्डौ पठाईएकोमा पोष्टमार्टम रिपोर्टमा कोही कसैले घाँटी थिची कर्तब्य गरी मारेको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको थियो।सोही फोरेन्सिक रिपोर्टको आधारमा घटनामा संलग्न ब्यक्तिको पहिचान गर्नको लागी स्थानिय मानिसहरु तथा प्राबिधिक टोली समेतको सहयोगमा अनुसन्धान गर्ने क्रममा मृतकको छोराले नै मारेको खुल्न आएको भण्डारीले बताए।

मिलनलाई हिजो सोमबार काठमाडौमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा सम्मानित मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रवक्ता भण्डारीले बताए।

पालिका प्रेस
थप जानकारी