कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो सांगठनिक विस्तार अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअन्तर्गत आज २०८३ कार्तिक ३० गते भीमफेदी गाउँपालिका–२ स्थित पोखरीमा विशेष ‘उज्यालो संवाद’ कार्यक्रम भएको छ । स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त संवाद तथा भेलाले भीमफेदी–२, पोखरीमा पार्टीको ७ सदस्यीय टोल कमिटी गठन गरेको छ । नवगठित पोखरी टोल कमिटीको अध्यक्षमा टसी लामा र सचिवमा सुनिता घिसिङ चयन हुनुभएको छ ।

त्यस्तै, कमिटीका सदस्यहरूमा सिंहराम गोङ्बा, खेमराज घिसिङ, गणेश मुक्तान, आशाराम मुक्तान र सोमबहादुर घिसिङ सर्वसम्मत रूपमा चयन हुनुभएको पार्टीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष आशिष असलामीले पार्टीको मूल एजेन्डा र विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेका थिए । उनले सम्पूर्ण भीमफेदीबासीले कुलमान घिसिङको ‘हरित क्रान्ति’ को अवधारणालाई गहिराइका साथ बुझ्नुपर्नेमा जोड दिए ।

स्थानीय स्तरमा उपलब्ध जल, जमिन, जंगल, जडीबुटी र खनिजको समुचित सदुपयोग गरी त्यसैको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम नै हरित क्रान्ति भएको उल्लेख गर्दै अध्यक्ष अस्लामीले भन्नुभयो, “प्राकृतिक स्रोतको सही परिचालन नै भीमफेदीको मुहार फेर्ने र समृद्धि ल्याउने स्पष्ट मार्गचित्र हो ।“ कार्यक्रममा पार्टीका भीमफेदी गाउँपालिका कमिटी सल्लाहकार चन्द्र तितुङ, वडा नम्बर २ का संयोजक भीमलाल थोकर, गाउँपालिका कमिटी सचिवालय सदस्य राजीव परियार तथा वडा नम्बर ४ का संयोजक राजीव तामाङ लगायतका नेता तथा स्थानीयको उपस्थिति रहेको थियो ।

स्थानीय स्रोत र साधनको परिचालनमार्फत विकासको नयाँ लहर ल्याउने उद्देश्य बोकेको उज्यालो नेपाल पार्टीको यस सक्रियताले भीमफेदीबासीमाझ नयाँ उत्साह, विश्वास र सकारात्मक ऊर्जा सञ्चार गरेको छ ।

 

पालिका प्रेस
थप जानकारी