हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको २६ चैतमा उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

उपमहानगरको लगानीमा सञ्चालित तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो। मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परीक्षण र निगरानीपश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिइएको उपमहानगर उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए ।

उपमहानगरको १ लाख रुपैयाँ लगानीबाट अर्गानिक साग उत्पादन गरी बनाइएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा निकै खुशी भएको उद्यमी समूहकी अध्यक्ष चिनीमाया गुरुङले बताइन । अनुज्ञा पत्र नहुँदा बजारमा लैजान नपाएर करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन। तर अब बजारीकरणको बाटो खुलेको छ । उपमहानगरले सहयोग गरे समूहका १२ जनाले गरेको कामले सार्थकता पाउने उनले बताइन ।

गत असोजमा कामको लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुक उत्पादन थालेको थियो। उद्योग शाखाको तथ्याङ्क अनुसार उपमहानगरले ८०० भन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएको थियो । जसमा २६८ जना उद्यममा जोडिएका छन।

पालिका प्रेस
थप जानकारी