मकवानपुरको थाहानगर आफैंमा पर्यटकीय नगरी हो । पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको थाहानगरका कतिपय पर्यटकीय क्षेत्र ओझेलमा परि रहेका छन् । स्थानीय सरकारले ओझेलमा परेको पर्यटकीय क्षेत्रलाई प्रचारमा ल्याउने र पर्यटकीय चहलपहल बृद्धि गर्ने योजना अघि सारेपछि कोटथुम्कीमा पनि पर्यटक आउन थालेका छन् । यहाँका हरेक थुम्का र डाँडा प्राकृतिक भ्युटार हुन् ।

ठाउँठाउँको आ–आफ्नै विशेषता रहेको छ । यस्तै, विशेषताले भरिएको थाहा नगरपालिका पालुङको कोटथुम्की डाँडाबाट निकै राम्रो सूर्योदय अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट करिब २ हजार ४५० मिटरको उचाइमा रहेको कोटथुम्की ऐतिहासिक मात्र नभएर प्राकृतिक दृष्टिकोणले राम भ्यूप्वाइन्ट हो । कोटथुम्की र आसपासका क्षेत्रबाट विभिन्न १० भन्दा बढी हिमश्रृंखलाको राम्रोसँग अवलोकन गर्न सकिने स्थानीय बताउँछन् । मौसम खुलेको समयमा कोटथुम्कीबाट सगरमाथा पनि देखिन्छ । अग्लो डाँडा भएकाले यहँबाट गोर्खा, धादिङ, नुवाकोट, काठमाडौं पनि देखिन्छ ।

पर्यटकीय क्षेत्रको रुपमा कोटथुम्कीलाई विकास गर्नसके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने थाहानगरका पूर्वनगरप्रमुख लवशेर बिष्ट बताउँछन् । थाहानगरमा रहेका पर्यटकीय क्षेत्रको डीपीआर तयार गरी सुदृढीकरण र पर्यटन प्रबद्र्धनको काम आफूले थालनी गरेको बिष्ट बताउँछन् । कोटथुम्की आसपासका क्षेत्रमा पर्यटक लक्षित होटल, होमस्टे निर्माण गरी गर्मी मौसममा तराई क्षेत्रका पर्यटक आकर्षित गर्न सकिने पूर्वनगरप्रमुख बिष्ट बताउँछन् ।

पालिका प्रेस
थप जानकारी